आपूर्तिमा समस्या छैन, चाहिएजति बिजुली बाल्नु : कुलमान घिसिङ

सफल खबर संवाददाता

आइतबार, २६ कार्तिक २०८०, १५ : ३७
आपूर्तिमा समस्या छैन, चाहिएजति बिजुली बाल्नु :  कुलमान घिसिङ

काठमाडौँ । तिहारको समयमा बिजुलीको उच्च खपत १४ सय मेगावाटसम्म रहने नेपाल विद्युत प्राधिकरणले प्रक्षेपण गरेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङका अनुसार लक्ष्मीपूजामा उच्च माग नै जम्माजम्मी १४ सय मेगावाट आसपास हुने प्रक्षेपण प्राधिकरणको छ ।

उनले गत वर्षको तिहारदेखि लक्ष्मीपुजाको बिजुली माग धान्न समस्या नरहेको समेत स्मरण गरे । ‘गत वर्षदेखि स्वदेशी बिजुलीबाटै तिहारको माग धान्न सुरु भइसकेको छ,’ घिसिङले रातोपाटीसँग भने, ‘१४ सय मेगावाट माग भएमा थप ४००/५०० मेगावाट बिजुली भारत बेच्छौँ ।

तिहारको समयमा सार्वजनिक बिदा रहेकाले उद्योगधन्दा तथा कलकारखाना बन्द हुनेछन् । यसबाहेक, ठूला व्यापारिक मललगायत समेत बन्द हुन्छन् । जसबाट बिजुलीको खपत स्वतः घट्छ ।

केही वर्ष अघिसम्म लक्ष्मीपूजा वर्षकै सबैभन्दा धेरै बिजुली खपत हुने समयका रूपमा रहन्थ्यो । तर, पछिल्लो समय आन्तरिक उत्पादनले माग धान्ने स्थिति बनिसकेको छ। यसबाहेक, नेपालको बिजुली खपतको ‘ट्रेन्ड’ नै बदलिइसकेको घिसिङको भनाई छ ।‘अहिले गर्मी याममा सबैभन्दा धेरै बिजुली खपत हुन्छ । चैत, वैशाख र जेठ महिनामा सबैभन्दा उच्च माग हुन्छ,’ घिसिङ थप्छन्, ‘यो समयमा उच्च गर्मी हुने भएकाले तराई क्षेत्रमा एसी र पंखा चलाउँदा माग बढ्छ ।’

दुई÷तीन वर्ष अघिसम्म पनि चिसोयाम सबैभन्दा धेरै बिजुली खपत हुने समयका रूपमा थियो । यो समयमा एसी र हिटर चलाउँदा सबैभन्दा धेरै बिजुली खपत हुन्थ्यो । तर, पछिल्लो समय आन्तरिक उत्पादन बढेर बिजुली बढी हुन थालेसँगै बिजुली खपतको ट्रेन्ड नै बदलिएको घिसिङ बताउँछन् । 

यसको अर्थ चिसोयाममा बिजुली खपत भने घटेको होइन । चिसो याममा समेत खपत बढेपनि तुलनात्मक रूपमा गर्मी याममा बिजुलीको खपत बढी हुन थालेको हो ।तिहारको समयमा हुने कूल बिजुली खपतमध्ये सबैभन्दा धेरै काठमाडौंमा नै हुने प्राधिकरण बताउँछ । लक्ष्मीपूजाको दिनमा मात्रै तिहारमा ३५० मेगावाटसम्म बिजुली खपत हुने आकलन प्राधिकरणको छ । सामान्य अवस्थामा २५० देखि ३०० मेगावाटसम्म मात्रै काठमाडौँको माग हो ।

समस्या समाधानमा ‘टास्क फोर्स’

तिहारको समयलाई उज्यालोको सहर भनिन्छ । कुलमान घिसिङ नै प्राधिकरणको नेतृत्वमा आएपछि पहिलोपटक २०७३ सालको लक्ष्मीपूजाबाट लोडसेडिङको अन्त्य भएको घोषणा भयो । 

त्यसयता निरन्तर बिजुलीमा सहजता थपिँदै जाँदा यतिबेला निर्यातको स्थितिमा पुगेको छ । घिसिङले तिहारको समयमा (विशेषगरी लक्ष्मीपूजा)मा बिजुलीमा कुनै समस्या आए समाधानका लागि ‘टास्क फोर्स’ नै तयारी अवस्थामा छ ।

यो टोलीले रुखका कारण वा बढी लोडका कारण हुने लोडसेडिङलाई तत्काल समाधान गर्नेछ । यसबाहेक, कुलमान घिसिङ आफै पनि आज दिनभर उपत्यका आसपासका सब्सटेसनमा पुग्दैछन् । ‘तिहारको समयमा मुसा पस्यो भने समस्या हुन्छ,’ घिसिङले भने, ‘यही कारण म स्वयम् आज दिनभर आसपासका सबस्टेसनमा पुग्छु।’

कुलेखानी बन्द, तामाकोशी न्यून क्षमतामा

प्राधिकरणले तिहारको १४ सय वा यो भन्दा बढी माग धान्दै भारततर्फ थप ४०० देखि ५०० मेगावाट बिजुली बेच्ने जनाइसकेको छ । यो व्यवस्थापनका लागि समेत प्राधिकरणले कुलेखानी र माथिल्लो तामाकोशीलाई पूर्ण क्षमतामा चलाउनुपर्ने घिसिङ बताउँछन् । उनका अनुसार माथिल्लो तामाकोशी आवश्यकता अनुसारको माग धान्ने गरी ‘स्ट्यान्डबाई’ बस्छ ।

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी अर्धजलाशययुक्त आयोजना हो । सोहीकारण, यो आयोजनालाई आवश्यक परेको समयमा मात्रै चलाउन सकिन्छ । प्राधिकरणले तिहारमा तामाकोशीबाट चाहिएको समयमा उत्पादन गर्ने गरी न्यूनतम क्षमता १०० मेगावाटमा चलाउने निर्णय गरेको छ । 

यसबाहेक, कुलेखानी आयोजनाबाट भने उत्पादन नै नगर्ने निर्णय गरेको छ । यद्यपि, माग उच्च रहेर बिजुली नपुगेमा भने यी दुवै आयोजनाबाट समेत उत्पादन थाल्ने गरी तम्तयार अवस्थामा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस