प्राधिकरणले काट्यो विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन

सफल खबर संवाददाता

शनिबार, २५ कार्तिक २०८०, १३ : २४
प्राधिकरणले काट्यो विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गत १२ कात्तिकबाट विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन काटेको छ । लाइन काटिएका ग्राहकको बक्यौता रकम करिब ६२ करोड रुपैयाँ छ ।

असुलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरूले महसुल नतिर्ने ग्राहकहरूको लाइन काटिरहेका छन् । यस अवधिमा सबैभन्दा बढी मधेस प्रदेशमा लाइन काटिएको छ । मधेस प्रादेशिक कार्यालय, जनकपुर मातहतका वितरण केन्द्रहरूले ४ हजार ८ सय ५२ ग्राहकको लाइन काटेका छन् । उक्त ग्राहकको बक्यौता रकम १७ करोड ११ लाख रुपैयाँ रहेको छ ।

कोशी प्रादेशिक कार्यालय, विराटनगर मातहतका वितरण केन्द्रहरूले महसुल नतिर्ने ४ हजार ३ सय ३१ ग्राहकको लाइन काटेका छन् । उक्त ग्राहकहरूको बक्यौता रकम ९ करोड ८१ लाख रुपैयाँ रहेको छ । लुम्बिनी प्रदेश डिभिजन कार्यालय, नेपालगन्ज मातहतका वितरण केन्द्रहरूले ४ हजार १८ ग्राहकको लाइन काटेका छन् । उनीहरूको बक्यौता रकम ३ करोड ८५ लाख रुपैयाँ छ ।

लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल मातहतका वितरण केन्द्रहरूले ३ हजार ३ सय ५२ ग्राहकको लाइन काटेका छन् । उनीहरूको बक्यौता रकम ७ करोड ८५ लाख रुपैयाँ छ । बागमती प्रादेशिक कार्यालय, काठमाडौँ मातहतको वितरण केन्द्रहरूले २ हजार ७ सय ९३ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम ११ करोड ३४ लाख रुपैयाँ छ ।

गण्डकी प्रादेशिक कार्यालय, पोखराले महसुल नतिर्ने २ हजार ७ सय ५५ ग्राहकको लाइन काटेको छ । बक्यौता रकम ४ करोड ६ लाख रुपैयाँ छ । बागमती प्रदेश डिभिजन कार्यालय, हेटौँडा मातहतका वितरण केन्द्रहरूले २ हजार १ सय ७७ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम ४ करोड ८२ लाख रुपैयाँ छ ।

सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरिया मातहतका वितरण केन्द्रहरूले १ हजार ३ सय ४२ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम २ करोड २७ लाख रुपैयाँ छ । कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत मातहतका वितरण केन्द्रहरूले ६ सय २४ ग्राहको लाइन काटेका छन् । बक्यौता रकम ९१ लाख रुपैयाँ छ ।

प्राधिकरणले  तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाउने छ । विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औँ दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३०औँ दिनसम्म ५ प्रतिशतका  दरले र ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औँ दिनदेखि विलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ ।

यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा  लाइन काट्ने व्यवस्था छ ।  लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताहरूलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।

प्राधिकरणले विनियमावलीको यही प्रावधानको आधारमा मिटररिडिङ भएको मितिले ६०औँ दिनसम्म पनि बक्यौता विद्युत् महसुल भुक्तान नगर्ने उपभोक्ताहरूको चरणबद्धरुपमा विद्युत् लाइन काटी बक्यौता महसुल असुलउपर गर्ने रणनीति लिएको छ ।