अमेरिका भ्रमणमा जाँदै परराष्ट्रमन्त्री साउद

सफल खबर संवाददाता

विहीबार, ०२ कार्तिक २०८०, १२ : ४७
अमेरिका भ्रमणमा जाँदै परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका भ्रमणमा जाने भएका छन् । यही कात्तिक ११ पछि मन्त्री साउदले अमेरिका भ्रमण गर्न लागेका बताइए पनि भ्रमणकाे औपचारिक घाेषणा भने हुन बाँकी छ । मन्त्री साउदकाे सचिवालयले भ्रमणकाे तालिका केही दिनमा सार्वजनिक हुने जानकारी दिएकाे छ ।

संयुक्त रास्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेज कात्तिक ११ गते राति काठमाडाैं आइरहेका छन् । परराष्ट्रमन्त्री साउदले गुटरेजसँग कात्तिक १२ गते भेट गरेपछि मात्रै अमेरिका जाने गरी भ्रमणको नयाँ कार्यतालिका बनिरहेको उनकाे सचिवालयले जानकारी दिएकाे छ । 

गुटरेज यसअघि असोज २६ र २७ मा नेपाल आउने कार्यक्रम भए पनि  पछि रद्द भएकाे थियाे । गुटरेजकाे नेपाल भ्रमणकाे तालिकाका कारण परराष्ट्रमन्त्री साउदकाे अमेरिका भ्रमणकाे मिति पनि धकेलिएकाे सचिवालयकाे भनाइ छ । 

भ्रमणका एजेन्डा तय गर्न भने मन्त्रालयका पदाधिकारीहरू लागिपरेका छन् । परराष्ट्रमन्त्रीको हैसियतमा सन् २०१८ मा प्रदीप ज्ञवाली अमेरिका भ्रमण गरेका थिए । १७ वर्षको अन्तरालमा नेपालबाट परराष्ट्रमन्त्रीको भ्रमण भएको थियो । त्यसपछि साउद अमेरिका भ्रमणमा जान लागेका हुन् ।

ज्ञवाली भ्रमणका गएको बेलामा अमेरिका सहायता परियोजना एमसीसीको विषयमा थप सम्झौता गरेको भन्दै व्यापक आलोचना भएको थियो । त्यही भ्रमणपछि नेपालमा एमसीसीको विषयमा चर्को विमर्श भएको थियो । नेपाललाई अमेरिकाले पछिल्ला दिनमा निकै प्राथमिकतामा राखेर दोहोरो राजनीतिक भ्रमणमहरू बाक्लो बनाउने प्रयासमा लागेको छ ।

प्रतिक्रिया दिनुहोस