मानव बेचबिखनमा टिकटकको दुरूपयोग बढ्दै

सफल खबर संवाददाता

मंगलबार, १६ असोज २०८०, ०९ : १३
मानव बेचबिखनमा टिकटकको दुरूपयोग बढ्दै

काठमाडौ । केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन्। 

 मानव बेचबिखनविरुद्ध नेपालगन्जमा क्रियाशील माइती नेपालका संयोजक केशव कोइरालाले भने, ‘कुनै समय गाउँ–गाउँमा गएर अशिक्षित महिला अथवा किशोरीलाई फकाएर बेचबिखनका लागि भारत तथा तेस्रो मुलुक लैजाने गरिएका घटना निकै सुनिन्थे। अहिले त्यसको स्वरूपमा परिवर्तन आएको छ।’

उनका अनुसार मानव बेचबिखन पहिलेको भन्दा नयाँ स्वरुपमा विकसित भइरहेको छ। अहिले नयाँ प्रविधि र सामाजिक सञ्जालको प्रयोगले सहरकै शिक्षित महिला पनि जोखिममा छन्।

मानव बेचबिखन र ओसारपसारमा पछिल्लो समय लोकप्रिय भइरहेको सामाजिक सञ्जाल टिकटकको दुरुपयोग तीव्ररुपमा बढिरहेको छ। विशेषगरी किशोरावस्थाका युवती टिकटकका माध्यमबाट अपरिचित व्यक्तिको सम्पर्कमा पुगी बेचबिखनको जोखिममा परेका छन्। पछिल्लो समय धेरै प्रयोगमा आएको सामाजिक सञ्जाल टिकटकबाट सम्बन्ध विस्तार गरी महिला बेचबिखनको जोखिममा पर्ने गरेका छन्।

टिकटकको माध्यमबाट चिनजान र कुराकानी भई घरबाट हिँडेका घटनामा जोखिम बढी पाइएको माइती नेपाल नेपालगन्जका संयोजक कोइरालले बताए। माइती नेपालले यसरी टिकटकको माध्यमबाट चिनजान भई सीमापार जान लागेका किशोरीलाई उद्धारसमेत गरेपछि टिकटक पनि बेचबिखनको माध्यम बनेको खुलेको हो। सामाजिक सञ्जाल टिकटकको माध्यमबाट चिनजान भई भारत जान लागेका छ जनालाई माइती नेपालका कर्मचारीले जमुनाहनाकामा रोकेर परिवारलाई बुझाए।

पछिल्लो छ महिनामा टिकटकको माध्यमबाट चिनजान भएकै आधारमा घर छाडेका १२ युवती बेचबिखनको जोखिममा परेको जनाउँदै परिवारले खोजतलासका लागि माइती नेपालको नेपालगन्जस्थित कार्यालयमा निवेदन दिएका छन्।

सामाजिक सञ्जालमा एकअर्कालाई साथी बनाएर कुरा गरेकै भरमा बेचिन पुग्नेजस्ता जोखिम देखा पर्न थालेका छन्। अझ अहिले बेचबिखनमा टिकटकको प्रयोग चुनौतीपूर्ण देखिन थालेको छ,’ बेचबिखनमा आएको परिवर्तित शैलीबारे संयोजक कोइरालाले भने ‘सामाजिक सञ्जालको दायरा फैलिएको छ। फेसबुक, ह्वाट्स एपपछि अहिले मानव बेचबिखनमा टिकटकको प्रयोग तीव्ररूपमा बढिरहेको छ । यसले अशिक्षित र गाउँका महिलामात्रै होइन, शिक्षित र सहरिया महिला पनि जोखिममा छन।’

राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा महिला जानाजान जोखिम मोल्न तयार हुने गरेको पाइएको उहाँको भनाइ  । दलालले फोनमा देखाएको प्रलोभनले ग्रामीण सोझा, अशिक्षित महिलामात्रै नभई सचेत महिला पनि फस्ने गरेका छन् । ग्रामीण क्षेत्रका अधिकांश महिलाले फेसबुकभन्दा इमो बढी चलाउने गरेका छन्।