‘प्रचण्ड’ले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्छ : वामदेव गौतम

सफल खबर संवाददाता

बुधबार, २० भदौ २०८०, १९ : ३२
‘प्रचण्ड’ले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्छ : वामदेव गौतम

काठमाडौँ । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताएका छन् ।

बुधवार काठमाडौँमा भएको कार्यक्रममा उनले आफू नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) पार्टीमा जानसक्ने तर नेकपा (माओवादी केन्द्र) मा जान नसक्ने बताए ।

जनयुद्ध कालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए । राजनीतिक व्यक्तिहरुको हत्या गरियो, त्यसलाई माक्र्सवाद भन्छन्, भन्दैनन्,’ उनले भने, ‘प्रचण्ड’ले घरघरमा पीडितका घरमा गएर आफूले गरेको गल्ती हो भनेर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिन । संयुक्त रुपमा एउटै पार्टी बनाउने हो भने हामी जानसक्छौं ।’

नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेरहद नहटाएको दाबी गरे । उमेर हद संविधानको धारा २४ को विरुद्धमा रहेकोले हट्नैपर्ने उनले बताए ।

‘नेकपा एमालेले ७० वर्ष उमेर हद हटायो भनियो तर त्यो हटाएको छैन । उमेर हद भनेको यो संविधानको धारा २४ को बिरुद्धमा छ,’ गौतमले भने, ‘त्यो व्यवस्था उँच, निच, छुवाछुत, जातिपाती, शारीरिक अवस्थामा भेदभाव गर्नेलाई दण्डनीय भनिएको छ । उमेर हद नेपालको संविधान बिरोधी छ, त्यो हट्नैपर्छ ।’

समाजवाद ल्याउने घोषणा गरेर निर्वाचनमा गएका पार्टीहरुमा पुँजीवाद भन्दा अरु केही नरहेको जिकिर पनि उनले गरे ।

प्रतिक्रिया दिनुहोस