काठमाडौँ । गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी भेगमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत जिल्लामा गरी पाँच सय ७२ रोपनी क्षेत्रमा स्याउ खेती विस्तार गरिएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।
हिमाल पारिका जिल्ला मुस्ताङ र मनाङ स्याउका लागि उर्बर भूमि हुन् । बागलुङको ढोरपाटन, गोरखाको चुमनुब्री, म्याग्दीको गुर्जालगायतका ठाउँमा पनि उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती सुरु गरिएको प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताए ।
स्याउ खेती विस्तार तथा व्यवसायीकरण आयोजनाबाट तीन सय ९२ र शीतोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत एक सय ८० रोपनी क्षेत्रफलमा स्याउ खेती विस्तार गरिएको उनको भनाइ छ । “मुख्यरुपमा मुस्ताङ र मनाङमा स्याउ खेतीलाई केन्द्रित गरिएको छ, अरु जिल्लाका उच्च पहाडी भेगमा पनि थोरै थोरै क्षेत्रमा स्याउ खेती सुरु गरिएको छ”, प्रमुख रेग्मीले भने ।
गत आवमा स्याउ खेती विस्तारतर्फ रु. ११ करोड ५० लाख र शीतोष्ण फलफूल विस्तारमा रु छ करोड बजेट खर्च भएको निर्देशनालयले जनाएको छ । स्याउ खेती विस्तार तथा व्यवसायीकरण आयोजनाबाट मुस्ताङमा ५८ हजार आठ सय स्याउका बिरुवा वितरण गरिएको थियो ।
शीतोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत अन्य जिल्लामा २७ हजार स्याउका बिरुवा वितरण गरिएको प्रमुख रेग्मीले बताए । शीतोष्ण फलफूल विस्तार आयोजनाअन्तर्गत १० हजार एक सय ओखरका बिरुवासमेत वितरण गरी थप पाँच सय पाँच रोपनीमा ओखर बगैँचा विस्तार भएको जनाइएको छ ।
विस्तार गरिएको स्याउ खेतीबाट प्रतिकिलो रु. एक सय ५० का दरले वार्षिक झन्डै रु. १७ करोड ३७ लाख बराबरको स्याउ उत्पादन हुने निर्देशनालयको अनुमान छ । औसतमा १० प्रतिशत बोट मरे पनि बाँकी बोटले वर्षमा १५ किलो उत्पादन दिँदा वार्षिक एक हजार एक सय ८५ मेट्रिकटन स्याउ उत्पादन हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ३२ साउन २०८०, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल
स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता