बाघको संख्या वृद्धिमा ठूलो सफलता पायौं : वनमन्त्री डा. महतो

सफल खबर संवाददाता

शनिबार, १३ साउन २०८०, १३ : १८
बाघको संख्या वृद्धिमा ठूलो सफलता पायौं : वनमन्त्री डा. महतो

काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले नेपाल वन, वनस्पति र वन्यजन्तुमा धनी भएको भन्दै यसको संरक्षणसँगै देशको समृद्धिमा कसरी टेवा पुर्याउन सकिन्छ भन्नेबारे सोच्ने बेला आएको बताएका छन् ।

आज (शनिबार) विश्व बाघ दिवस–२०२३ को अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सदर चिडियाखाना, ललितपुरमा आयोजना गरेको विशेष कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वनमन्त्री महतोले विश्व बाघ दिवस मनाउनको लागि दिईएको ‘मानव–बाघ सहअस्तित्व’ नाराअनुसार काम गरिनुपर्नेमा जोड दिए । उनले विश्वमा बाघ पाईने १३ राष्ट्रहरुमध्ये नेपालपनि एक भएको र पछिल्लो वर्ष नेपालले बाघको संख्या वृद्धि गर्नमा ठूलो सफलता हाँसिल गरेकोले यसको संरक्षणमा ध्यान दिनुपर्ने बताए ।

मन्त्री महतोले वाघको संख्या समयभित्रै दोब्बर बनाएकोमा नेपालले अन्तर्राष्ट्रिय समूदायबाट प्रशंसासमेत बटुलेको सुनाए । अब बाघको संरक्षणमा सबै सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनको भनाई थियो । नेपालको वनजंगलको संरक्षणमा सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने सुरक्षा निकायका उपल्लोदेखि तल्लो तहका सबै कर्मचारीप्रति उनले हार्दिक कृतज्ञता व्यक्त गरे । उनले भने,‘हामीले अन्तर्राष्ट्रिय फोरममा गरेको प्रतिबद्धताअनुसार बाघको संख्या सन् २०२२ भित्रै झण्डै तेब्बर बनाएका छौं । यो हाम्रो लागि गौरवको विषय हो । अब यसको संरक्षण गर्नु नै हाम्रो लागि अर्को चूनौति थपिएको छ ।’

पछिल्लो समय मानवको जीवन ठूलो कि जनावरको भन्ने बहस पनि सुरु भएको उनको टिप्पणी थियो । मानव र जंगली जनावरबीचको द्वन्द्वको कारण यस्तो बहस सुरु भएको भन्दै सरकारले मानव–जंगली जनावरबीचको सहअस्तित्वलाई ध्यान दिएको पनि उनको भनाई थियो । उनले भने,‘पछिल्लो समय बाघ अनि हात्तीको आक्रमणबाट निधन हुने मान्छेको संख्या बढिरहेको छ । यो एकदमै चिन्ताजनक विषय हो । अब हामी सरोकारवाला निकायले मानव–जंगली जनावरबीचको द्वन्द्व कम गर्न र सह–अस्तित्वलाई बढावा दिँदै जंगली जनावरबाट हुने आक्रमण कम गर्न प्रयास थाल्नुपर्छ । यसमा विलम्ब नगरौं ।’

उनले आज मानवको आचरणमा पनि सुधार ल्याउन जरुरी भएको उल्लेख गरे । मान्छेको जनसंख्या वृद्धिसँगै वन जंगलको विनाश पनि बढिरहेको भन्दै जंगलमा पानीको मुहान सुकेको र घाँसहरु पनि मासिँदै गएको दुःखद् अवस्था पनि उनले चित्रण गरे । उनले भने,‘जंगलको इको–सिस्टम बलियो बनाउनुपर्छ । अहिले जंगलमा आहार नपाएर जंगली जनावरहरु मानव बस्तीमा पस्न थालेको हो । हामीले त्यतातिर ध्यान दिन जरुरी छ ।’

मन्त्री डा. महतोले मानव–जंगली जनावरबीचको द्वन्द्वमा न्यूनीकरण गर्नको लागि केही नवीन र वैज्ञानिक अवधारणा ल्याउनुपर्नेमा जोड दिए ।
उनले भने–‘नेपाल कृषिप्रधान देश भनेर विश्वमै चिनाउन सफल भएका छौं, तर आजको हाम्रो अवस्था एकदमै नाजुक छ । बाँदरहरु मान्छेको बाली नालीमा पसेका छन् । किसानहरु चिन्तित छन् । यतातर्फ पनि सोचौं । बाँदरको व्यवस्थापनि कसरी गर्ने भन्ने अहिले ठूलो चूनौति थपिएको छ ।’

उनले बाँदर विदेशी निर्यात गर्ने वा बन्ध्याकरण के गर्ने भन्ने विकल्पतर्फ पनि सोच्ने बेला आएको सुनाए । नेपालस्थित् वन तथा वातावरणको क्षेत्रमा काम गर्ने विदेशी संस्थाहरुको भूमिका पनि सकारात्मक हुनुपर्नेमा उनको जोड थियो । उनले भने,‘सानो–सानो कुरामा पनि हस्तक्षेप गर्नु गलत हो ।’ उनले बाघहरु बढि हुँदा नेपालबाट भारततर्फ जाने हो कि भन्ने चिन्ता व्यक्त गरे । जनावरलाई एक देशबाट अर्को देशमा जानको लागि भिसा नचाहिने भन्दै उनले यसतर्फ ध्यान दिनुपर्ने पनि औंल्याए ।

मन्त्री महतोले नेपालको भू–भागको ४५ प्रतिशत वनले ओगटेको उल्लेख गर्दै यसलाई समृद्धिको माध्यम वा सेतु कसरी बनाउन सकिन्छ भन्नेतर्फ सोच्ने बेला पनि आइसकेको बताए । उनले भने,‘हाम्रो देशमा अहिले एक जना व्यक्तिको जन्मदिनमा पनि वृक्षारोपण हुने गरेको छ। यो एकदमै राम्रो कुरा हो । तर, जंगल चाहीँ बढाएको बढाए गर्ने अनि यसलाई देशको समृद्धिमा योगदान पुर्याउने माध्यम किन नबनाउने ? अब प्रकृतिलाई देशको विकासको लागि टेवा पुर्याउने कुरा गरौं ।’

उनले जंगल तथा निकुञ्ज आसपासमा इको–टुरिज्मलाई बढावा दिन खोज्दा विरोध तथा आलोचना हुने गरेको विगत स्मरण गराउँदै अब नेपालले चीन र दक्षिण अफ्रिकाबाट पनि सिक्नुपर्ने बताए । उनले नेपालको बर्दियामा इको–टुरिज्मको अथाह सम्भावना रहेको बताए । तर, राम्रो र स्तरीय रिसोर्ट अनि होटेल नहुँदा विदेशी तथा आन्तरिक पर्यटकहरु बर्दियामा एक दिन पनि नअडिएको तितो अनुभव पनि उनले साझा गरे ।

सो अवसरमा वन तथा वातावरण मन्त्रलायका सचिव डा. रेवती रमण पौडेल, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विश्व बाघ दिवसको अवसरमा शूभकामना दिएका थिए ।

मन्त्री महतोले चिडियाखानामा रहेका बाघलाई आहारा खुवाएर कार्यक्रमको सुरुवात गरेका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता एवम् उप महानिर्देशक अजय कार्कीले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘नेपाल टेलिकमबाट बाघ संरक्षण र बाघको आक्रमणबाट बच्न सचेतना अपनाउन अनुरोधसहितको सन्देशमूलक सिआरबिटी आज दिनभर प्रसारण गरिएको छ । साथै, विहानको समयमा वन परिसर बबरमहलमा बाघ दिवसको मूल नारा राखी तयार गरिएको बाघको चित्र अंकित ब्यानर, वन तथा वातावरण मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलबाट अनावरण गरिएको थियो ।’

सन् २०१० मा रुसको सेन्ट पीटरवर्गस्मा भएको प्रथम बाघ सम्मेलनले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने घोषणा गरेको थियो । सो सम्मेलनमा विश्वका बाघ पाईने १३ देशका सरकार प्रमुखसमेतको उपस्थितिमा बाघको संख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त भएकोमा नेपालमा सो अवधिमा करिब तेब्बर संख्यामा बाघ वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस