प्रतिनिधि सभा असभ्य रुपमा सञ्चालन हुन थाल्योः वामदेव गौतम

सफल खबर संवाददाता

शुक्रबार, १२ साउन २०८०, १५ : ०५
प्रतिनिधि सभा असभ्य रुपमा सञ्चालन हुन थाल्योः वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रतिनिधि सभाभित्र असभ्यता, अपसंस्कार र संस्कृतिहीन रुपमा सञ्चालन हुन थालेको बताएका छन् । शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताएका हुन् ।

उनले नेपालको संसद पहिलादेखि विवादित र नराम्रो किसिमले चल्ने गरेको भएपनि अहिले संसारका कुनैपनि संसदमा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको बताए । गौतमले सांसदहरु संसदको नियमावलीलाई बेवास्ता गरी जथाभावि रुपमा उठेर बोल्ने गरेको बताए ।

उनले एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको टिप्पणी गरे ।गौतमले पुरानो संसद परित्याग गरेर समानुपातिक समावेशी प्रणालीमा आवद्ध गराएर नयाँ संसद बनाएको भन्दै पहिलको भन्दा खराब रुपमा तल झरेर संस्कृतिहीन भएको बताए । उनले भने, ‘नेपालको संसद पहिलादेखि विवादित र नराम्रो किसिमले चल्न थालेको हो । अहिलेको प्रतिनिधि सभामा जे देखिएको छ ।

त्यो इतिहासमा कहिल्यै नभएका संसारका कुनैपनि संसदमा त्यस्तो हुँदैन। परिस्थिति अत्यन्त जटिल भएको अवस्थामा देखिने गाली गलौज र अपमान गर्ने अरुलाई होच्याउनेदेखि लिएर संसदको नियमावलीलाई बेवास्ता गरेर जतिबेला पनि उठेको छ । एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको छ ।

कहिले ५० जना कहिले १०० जना र एकातिर एउटा अर्कोतर्फ अर्को सांसद उफ्रिएको छ । संसदभित्रको असभ्यता अपसंस्कार र संस्कृतिहीन भएको छ ।’उनले कुनैपनि पार्टीले सांसदहरुलाई लगाएर संसदको गतिविधि अवरोध गर्न नपाउने भन्दै संसद अवरोध गर्ने विषय नियमावलीमा समेत नभएको बताए । 

प्रतिक्रिया दिनुहोस