अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सफल खबर संवाददाता

शुक्रबार, ०५ साउन २०८०, ११ : ४५
अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौ । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शुक्रबार कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । हाइड्रोपावरले असार ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले जारी पुँजीको ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको छ । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ५ लाख ९ हजार ८०४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ । 

जसमध्ये २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा दैलेख जिल्लाको अति आयोजना प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । बाँकी २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दाबाहेक दैलेख जिल्ला बासिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले यो आईपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको छ ।  स्थानीय बासिन्दाले आयोजना स्थल, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । 

प्रतिक्रिया दिनुहोस