काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा कोशी प्रदेशको नामकरण विवादको विषय उठेको छ । मंगलबारदेखि जारी बैठकमा आज सदस्य केशरकुमार बुढाथोकीले कोशी प्रदेश नामकरण विवादको विषय उठाएका हुन् ।
‘प्रदेश १ को नामकरण विवाद छ । यहाँ पार्टी बोलेन । एक नम्बर प्रदेशको हाम्रो उपस्थिति छैन । हाम्रो उपस्थिति भए यो विषयमा पार्टी बोल्थ्यो आज ?,’ उनको प्रश्न छ ।
एक नम्बर प्रदेशको नाम एमाले अध्यक्ष केपी ओलीले कोशी प्रदेश राखेको उनको भनाइ थियो । ‘हामीले लहलहैमा कोशी प्रदेश राख्यौं । कार्यकर्ताले त्यो कुरालाई स्वीकार गरेका छैन । कोही नेता गाउँ जान सकेको छैन । हामी यस विषयमा के गछौंँ ?,’ बुढाथोकीले भने ।
कोशी प्रदेशको किराँत समुदायसँग नामकरणबारे पार्टी नेतृत्वले सहमति खोज्नुपर्ने उनको भनाइ छ । ‘त्यहाँ किराँत जागेका छन् । उहाँहरुले धेरै केही मागेका छैनन् । आफ्नो पहिचानसहितको प्रदेशको नाम मागिरहेका छन् । कांग्रेस चुप्प छ,’ उनले भने, ‘त्यहाँ आन्दोलनकारीसँग बेलैमा नेतृत्वले सम्झारी गरेन भने नेपाली कांग्रेसले चुनावमा नलडोस् । काम पनि छैन । भोट पनि पाउँदैन । यसलाई गम्भीर रुपमा दिन मेरो अनुरोध छ ।’
कांग्रेसका सहिदलाई नेताहरुले नसम्झेको बुढाथोकीको गुनासो छ । ‘इलामको माइपोखरीको जंगलमा खाल्डो खन्न लगाएर जिउँदै गाडिएको तुलाबहादुर राई, खड्गबहादुर राई, तेजबहादुर राई, बलबहादुर गुरुङ, जितबहादुर राई, डाकमान राई र लालबहादुर राईको नाम महामन्त्रीको प्रतिवेदनमा छैन । महामन्त्री विश्वप्रकाशजी त सम्झिनुहुन्थ्यो । खै त तपाईको प्रतिवेदनमा उहाँहरुबारे ?,’ उनले प्रश्न गरे ।
महामन्त्री शर्मालाई प्रतिवेदनमा उनीहरुको नाममा पनि कार्यक्रम राख्न बुढाथाकीले बताए । यस्तै उनले बजेटमाथि सभामुखले मतदान गराउन नपाउने भन्दै बैठकले यसलाई छलफलको विषय बनाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ साउन २०८०, १६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग