जीवन जी, 'अनि कसरी दाँज्न सक्नुहुन्छ टेस्टेड मेयर रेनु र अनटेस्टेड मात्रै हैन अनसक्सेस सांसद रविलाइ ?'

विहीबार, २१ असार २०८०, ०७ : ३०
जीवन जी, 'अनि कसरी दाँज्न सक्नुहुन्छ टेस्टेड मेयर रेनु र अनटेस्टेड मात्रै हैन अनसक्सेस सांसद रविलाइ ?'

प्रमोद तिवारी

हिजो बिहान अनलाइन खवरमा एकजना जीवन क्षेत्रीले भरतपुर महानगर, त्यहाँकी मेयर रेनु दाहालको बिरोध संगसंगै सांसद रवि लामिछानेको बारेमा केही प्रसंग उल्लेख गरेको लेख पढें ।

लेख पढ्दा यस्तो लाग्थ्यो कि उहाँ निकै ठूलो वातावरण प्रेमी र कंक्रीटबाट हुने पुर्वाधारको विकास बिरोधी भन्ने प्रष्टै बुझिन्थ्यो । उहाँ भन्नुहुन्छ, भरतपुरको विकासमा कंकृट प्रयोग गर्नु गलत छ । जिवनजी, तपाईको लेखप्रती केही मेरा मात्रै नभइ आम भरतपुरवासीका केही जिज्ञासा छन ।
भरतपुर अहिले महानगरपालिकाको रुपमा छ । यसको कार्यक्षेत्र अहिले बिस्तारित छ ।

हिजोका दिनमा अहिलेको भरतपुरको कुना कुनाबाट मानिस बिरामी परेर भरतपुर ल्याउँदा बाटोको असहजताको कारण बिरामी सदरमुकाम ल्याउँदा ल्याउँदै बाटोमै मृत्युवरण गर्नुपर्ने अवस्था थियो । तर अहिले भरतपुरमा रेनु दाहालको नेतृत्व हुँदै गर्दा बिगत ६ बर्षमा भरतपुरका करिब सबै बाटोहरु पिच भएका छन । जसको कारण २–३ घण्टा भन्दा बढी समय लाग्ने बाटो अहिले भरतपुरको कुनैपनी कुनाबाट सदरमुकाम आउन बढिमा २०–२५ मिनेट लाग्ने गर्दछ । के यो बाटो कंकृट गर्नु गलत थियो तपाइँको विचारमा ?

हो, यस्तै यस्तै तपाईंले उठाउनुभएका केही कुराहरु मनमा खेलेकै कारण ति बिषयमा मेरो मात्र हैन आम भरतपुरवासीको मनमा पनि केही प्रश्न उब्जिएको महशुस भएकाले केही जिज्ञासा राख्ने जमर्को गर्दैछु । भरतपुरवासी र भरतपुरको मेयरको काम क्रियाकलापको बारेमा तपाईंको लेखमा टिप्पणी गर्दै थुप्रै नागरिकले लेखेको पनि पक्कै पढ्नुभएकै होला ।

टिप्पणीकर्ताहरुको टिप्पणी हेर्दा तपाईंले उक्त लेखमा विकासको बिरोध मात्रै हैन राजनैतिक रुपमा समेत मेयर रेनु दाहालप्रति राजनीतिक पुर्वाग्रह साँध्नुभएको प्रष्टै बुझिन्छ । मलाई त तपाईं राजनैतिक ब्यक्ति हो कि विकास बिरोधी हो छुट्टाउनै सकस परेकै कारण तपाईंलाई केही जिज्ञासा राख्न चाहन्छु :

१. भरतपुर महानगरका छेउछाउ सदरमुकामबाट २५–३० किलोमीटर टाढासम्म थियो । त्यतिखेर बिरामी बोकेर आउँदा पनि सदरमुकाम ल्याउन नपाउँदै केही बिरामिको मृत्यु हुने गर्दथ्यो । तर जब भरतपुरको नेतृत्व रेनु दाहालले लिएपछि बिगत ६ बर्ष यता भरतपुरका प्राय: सबै सडक पक्की भएका छन र भरतपुरको कुनैपनी कुनाबाट सदरमुकाम आउन ढिलोमा २०-२५ मिनेट भन्दा बढी लाग्दैन । के यसले विकासको पुर्वाधार र आम नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको जस्तो लाग्दैन तपाईंलाई ? कि यसमा पनि कंकृटे विकास भयो र वातावरण बिरोधी भयो भन्ठान्नुहुन्छ ?

२. देवघाटमा सबदाह गृह बन्दै गरेको सन्दर्भ वा नारायणी नदि किनारलाई रातको समयमा झलमल्ल बनाउने, नदि किनारमा बाढिको प्रकोप संरक्षण गर्दै फुट्पाथ सहितको समुन्द्र किनारको झझल्को देखाउने सि–बिच मोडेल बनाउनु पनि तपाइको आँखाले कंकृटिकरण भयो भन्दै बिरोध गर्न मन लाग्यो ?

३. सदियौं देखि नारायणी नदिले कटान गरेको हजारौं बिघा जनताको जमिन संरक्षण गर्ने, यसको कारण हुने गरेको थुप्रै जनधनको संरक्षण र सौन्दर्यकरन गर्नुपनी तपाइलाई डाहा लागेर कंकृटीकरण गरियो भन्न खोज्नु भएको हो ?

४. तपाईंको लेखमा केरुङ्गा घोलको व्यवस्थापनमा पनि कंकृटिकरण गरि गलत गर्न लागियो भन्न खोज्नु भएको रहेछ । केरुङ्गा घोल र पुङ्गिखोलाको किनारको भुमाफियाले कब्जा गरेको जमिन फिर्ता लिई त्यसको 
व्यवस्थापन गर्ने, छेउछाउमा बृक्षारोपण गर्ने, साइकल लेन बनाई सोन्दर्यकरण गर्नुपनी गलत भयो ? के यस ममलामा सांच्चै मैले ठिक लेखें भन्ने ठान्नुहुन्छ ?

५. त्यस्तै बुटवल–भैरहवा सडकजस्तै सुन्दर बनाउन शुरु गरिएको गोन्द्राङ–पुलचोक ६ लेन सडक, भरतपुर रिङ रोड, अन्तरास्ट्रिय स्तरको सिटि हल, शिक्षक अस्पताल, आयुर्वेद अस्पताल लगायतका निर्माणाधिन कार्य पनी कंकृटकै कारण सम्भव भएको छ । के यी पनि तपाइँको नजरमा गलत छन त ?

यी लगायत स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि  लगायतका क्षेत्रमा मेयर रेनु दाहालबाट उल्लेखनिय कार्य भएका छन । तपाईंलाई लाग्दो हो रेनु प्रचण्डको छोरी हो, अहिले प्रचण्डको बिरोध गर्ने ठाँउ नभेटेपछी उहाँकी छोरीको बिरोध गर्नु आफ्नो धर्म ठान्नु भयोहोला ! तर त्यस्तो होइन । हो के, भन्ने कुरा भरतपुरवासिलाई सोध्नुहोला । भरतपुरको मात्रै सन्दर्भ रहेन यो महानगर !

यो राष्ट्रिय सरोकारको बिषय बनेको छ । नेपालकै मध्य स्थानमा रहेको यो महानगरलाई राज्य प्रणालिले पनि विकास, पुर्वाधार, सुशासन, आर्थिक पारदर्शिता, कम बेरुजु लगायतका बिषयलाई हेरेर नेपालकै उत्कृष्ट महानगर घोषित भएको बिषय तपाइले जानी जानी बिर्सेर भरतपुरवासीलाई गुमराहमा राख्न खोजेजस्तो गरेर भरतपुर बिरोधी बिष बमन गरेको बुझ्न कठिन छैन ।

जिवनजी, तपाईंले रेनु दाहाललाई कत्तिको चिन्नुहुन्छ कुन्नी ! नचिनेको भए भरतपुरका नागरिकलाई सोध्नुहोस उनी कत्तिको इमान्दार, विकासप्रेमी, लगनशिल, जुझारु छिन भनेर ! यसो भन्दा उनिप्रती चाकडी गरेको भन्ने नठान्नुहोला । त्यो कुरा त उनले अघिल्लो ५ बर्षमा गरेको कामबाट जनताले दोह¥याएर अनुमोदन गरेर प्रमाणित गरेका छन । 
हुन त तपाईंको लेखमा थुप्रै पटक चितवन–२ बाट अत्यधिक मत सहित निर्वाचित सांसद रबि लामिछानेको सन्दर्भ धेरै पटक उठाउनुभएको छ । मलाई उनको खासै बिरोध गर्नु छैन तरपनी तपाईंको जिज्ञासा मेटाउन केही लेख्नैपर्ने बाध्यता आइलाग्यो ।

रबिजी उर्जावान हुनुहुन्छ, त्यसैकारण उहाँले प्रचण्डको प्रधानमन्त्रीत्वमा गृहमन्त्री सम्हाल्नु भयो । पदभार ग्रहण गरे लगत्तै उहाँले ठुला ठुला पदाधिकारीले सहयोगीको रुपमा राखेका प्रहरीलाई फिर्ता बोलाउने निर्णय गर्नुभयो तर कार्यान्वयनमा कति आयो त्यो छुट्टै बिषय हो । त्यसको लगत्तै उहाँले नेपालीहरुको जन्मकुन्डली बार्षिक १ अरबको कमिसनको लोभमा बिदेशी कम्पनीले राख्ने गरि देशद्रोही र कानुन बिपरित ठेक्का दिन पुग्नुभएको पनि तपाईंलाई बिदितै छ ।

भ्रष्टाचार बिरोधी नारा लगाएर देशको चौथो पार्टी बन्न सफल भएको पार्टीको नेता रबिजी सायद ४० दिनजती गृहमन्त्री हुनुभयो । के उहाँले उक्त अवधिमा भ्रष्टाचारको कुनै फाइल खोल्नुभयो त ? त्यही कुरा हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यभार सम्हाल्ने बित्तिकै भ्रष्टाचार बिरोधी छानबिनको काम अगाडि बढाएको पनि तपाईंलाई थाहै छ । अनि कसरी दाँज्न सक्नुहुन्छ टेस्टेड मेयर रेनु र अनटेस्टेड मात्रै हैन अनसक्सेस सांसद रविलाई ?

हुन त तपाईलाई लाग्दो हो रेनु प्रचण्डको छोरी हुन र रबि राजनैतिक सहयात्री ! त्यसैलेपनी तपाई आफु भिजन बिनाको सन्देश दिन र पुर्वाग्रहमा माहिर हुनुहुन्छ भन्ने माथी तपाईंले आफ्नो लेखमा उल्लेख गरेका तथ्यहरुले प्रमाणित गर्छ भन्ने लाग्छ । अन्यथा नलिनुहोला जिवनजी, थप कुरा सम्भवत भेटमा गरौंला ।