जलहरी जाँच्न अख्तियारको टोली पशुपतिमा

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, १६ : ०१
जलहरी जाँच्न अख्तियारको टोली पशुपतिमा

काठमाडौं । सुनको जलहरी जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेर नापजाँच सुरु गरेको छ । आयोगको टोलीसँग खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न छन् । जलहरी राख्दा अनियमिमता भएको सूचना बाहिर आएपछि त्यसबारे अख्तियारले छानबिन गरिरहेको छ ।

संसदमा समेत यसबारे प्रश्न उठेको थियो । उजुरीबारे थप अनुसन्धान गर्न टोली पशुपतिनाथ मन्दिरमा पुगेर नापजाँच सुर गरेको हो । उनीहरूले जलहरी बनाइएको सुनको गुणस्तर, तौललगायत विषयमा परीक्षण गर्ने जनाइएको छ ।

आयोगका अनुसार आइतबार साँझबाटै जलहरीको तौल परिक्षण हुने छ । जलहरीमा ११ केजी सुन घोटाला भएको र त्यसमा कोषकै पदाधिकारी संलग्न रहेको आशंका गरिएको छ ।

२०७७ माघ १२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा पुगेर ‘संकल्प पूजा’ गर्दै करिब १ अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गर्नुभएको थियो । लगत्तै पशुपति क्षेत्र विकास कोषले सरकारले दिने रकममा ५० करोड आफैं थपेर १ सय ८ केजी परिमाणको सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।