वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरू सामाजिक बहिष्करणमा पर्छन् : वन्दना पटनायक

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, १२ : ०७
वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरू सामाजिक बहिष्करणमा पर्छन् : वन्दना पटनायक

काठमाडौँ । दक्षिण एसियाली मुलुकहरूमा महिला र महिला श्रमिकको पक्षमा कानुनहरू बलिया बने पनि कार्यान्वयन पक्ष कमजोर रहेको पाइएको छ । महिला श्रमिकहरू अहिले पनि न्यूनतम र असमान ज्यालाको भेदभावमा छन् । यो भन्दा डरलाग्दो पक्ष वैदेशिक रोजगारीमा गएका र फर्किएका महिलाको सहज सामाजिकीकरण हुन नसक्दा उनीहरू सामाजिक, मानसिक र शारीरिक हिंसामा पर्ने क्रम रोकिएको छैन ।

महिला बेचबिखन विरुद्धको विश्वव्यापी सञ्जालले दक्षिण एसियाका ४ मुलुकका ५ सय आप्रवासी श्रमिक महिलामाथि गरेको अध्ययनमा वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरू सामाजिक बहिष्करणमा पर्ने गरेको, परिवारबाट अलग हुनुपरेको र समुदायबाट नै अस्वीकृतसम्म हुनुपरेको देखिएको छ । सञ्जालले ३० भन्दा बढी सदस्य संस्थाहरूमार्फत २ वर्ष लगाएर आप्रवासी महिला कामदारको अवस्थाको बारेमा अध्ययन गरेको थियो । 

 

सञ्जालकी प्रतिनिधि वन्दना पटनायकले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आप्रवासी महिला कामदारका पक्षमा संरक्षणवादी ऐन भए पनि त्यसको सही कार्यान्वयन हुन नसक्दा आप्रवासी महिला कामदारहरू बहुप्रकृतिका हिंसामा पर्ने जारी नै रहेको बताइन् । उनले भनिन्, ‘दक्षिण एसियाली राज्य श्रीलंका, नेपाल, बंगलादेश लगायत देशले अस्थायी श्रम आप्रवासन व्यवस्थामा कामदार पठाउने सचेत निर्णय गरेकाले अवस्था मिश्रित छ । महिला श्रम आप्रवासनलाई पनि प्रवर्द्धन गरिएको छ । त्यसैले केही कानुन बनेका छन् । केही कानुन राम्रा पनि छन् । संशोधनको आवश्यकता महसुस गरिएका ऐनमा संशोधनको काम पनि भइरहेको छ । कानुन राम्रा छन् तर कार्यान्वयन नहुने परिदृश्य छ । कहिलेकाहीँ कानुनहरू महिलाहरूका लागि धेरै संरक्षणवादी हुन्छन् तर तिनीहरूको अधिकारको संरक्षण गर्दैनन् ।’

 

उनले वैदेशिक रोजगारीबाट फर्किएका धेरै महिलाहरू आफ्नो परिवार र समुदायबाट अस्वीकार र कलङ्क महसुस गरेको जानकारी दिइन् । उनले भनिन्, ‘आफ्नो देशले पनि अर्थतन्त्रमा आफ्नो योगदानलाई मान्यता नदिँदा उनीहरू निकै चिन्तित थिए किनभने उनीहरूले आफूले कडा परिश्रम गरेको महसुस गरे। र तथ्याङ्कले देखाउँछ कि अधिकांश महिला आप्रवासी कामदारहरूले पुरुषको तुलनामा आफ्नो सबै कमाई घर फिर्ता पठाउँछन् । त्यसको बाबजुद पनि उनीहरूलाई धेरै मान्यता नपाएको महसुस भयो ।’

 

श्रम र प्रवासको सन्दर्भमा महिला अधिकारको क्षेत्रमा लामो समय काम गर्दै आएकी वन्दनाले बौद्धिक कामदार र घरेलु कामदारलाई गर्ने व्यवहार समान हुन नसक्दा पनि घरेलु महिला श्रमिकले बहुप्रकृतिका हिंसा बेहोर्नुपरेको जिकिर गरिन् । कामको प्रकृति र कामदार लिने प्रक्रियामा देखिएका कमजोरीका कारण पनि आप्रवासी महिला कामदारले समस्या भोग्नुपरेको उल्लेख गर्दै उनले गन्तव्य मुलुकमा कामदार पठाउँदा हरेक सरकारले ज्यालामा मोलमोलाइ गरेर अधिकतम ज्याला र सुविधाको सुनिश्चित हुने व्यवस्था मिलाउनुपर्ने धारणा राखिन् । महिला कमजोर भएका कारण नभई व्यवस्थामा भएको कमजोरीका कारण समस्यामा पर्ने गरेको उल्लेख गर्दै उनले कामदार पठाउने देशले गन्तव्य देशसँग पर्याप्त वार्ता गरेर आप्रवासी महिला कामदारका लागि सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस