सुरक्षित गर्भपतन सेवा असुरक्षित: रोकिएन अकालमा आमाहरूको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १४ बैशाख २०८३, ११ : ५६
सुरक्षित गर्भपतन सेवा असुरक्षित: रोकिएन अकालमा आमाहरूको मृत्यु

काठमाडौँ । विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन ६ सम्मका कोभिड–१९ कारण ‘लकडाउन’मा मात्र १३४ सुत्केरी तथा गर्भवतीले अकालमा ज्यान गुमाएका थिए । 

महामारीका सुरुआती चरणमा परिवार नियोजनका साधनको मागलाई पूर्ति गर्न समस्या देखियो । कोरोना नियन्त्रणलाई प्राथमिकता दिइएका कारण सुरक्षित गर्भपतन सेवा प्रदान गर्न अप्ठ्यारो भएको हो । महामारीमा परिवार नियोजनको सेवाको प्रयोग दर ३९ बाट ३७ प्रतिशतमा झरेको थियो ।

 विसं २०८१ साउनमा चितवनको एक अस्पतालमा गर्भपतन गराउने क्रममा महिलाको मृत्यु भयो । भरतपुर महानगरपालिका–२६ की ३२ वर्षीया नवीना महतोको अत्यधिक रक्तस्राव नरोकिएपछि अकालमा निधन भएको थियो । तत्कालीन समयमा गर्भपतन सेवा दिएको स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी नै सूचीकृत तथा तालिम प्राप्तसमेत थिएनन् । ‘मेडिकल हव’मा विकसित हुँदै गरेको चितवनमा पछिल्लो समय पनि असूचीकृत स्वास्थ्य संस्था तथा तालिम अप्राप्त स्वास्थ्यकर्मीबाट गर्भपतन सेवा लिने क्रम घटेको छैन ।

पर्साको बहुदरमाई नगरपालिका–६ स्थित भौवटारकी लालसा साह कानु को विसं २०८२ को जेठ अन्तिम साता अत्यधिक रक्तस्रावपछि निधन भयो । २४ वर्षीया कानुको गर्भपतनको असूचिकृत औषधि असूचीकृत औषधि पसलबाट किनेर स्वास्थ्यकर्मीको सल्लाह विना आफूखुसी खाएपछि स्वास्थ्य जटिलता देखिएको थियो । 

जटिल अवस्थामा स्वास्थ्य संस्थामा पुगेपछि उपचारका क्रममा उनको निधन भएको थियो । पर्सामा गर्भपतनका औषधि अनधिकृत पसलबाट अनधिकृत बिक्री हुँदा असुरक्षित गर्भपतनका घटना नियन्त्रणमा चुनौती छ । सीमावर्ती सहर रक्सौलसँग जोडिएकाले पनि जटिलता थपिएको हो । ‘गर्भपतन सेवा लिन सूचीकृत स्वास्थ्य संस्थामै जानुपर्छ’ र ‘गर्भपतनका लागि अनधिकृत औषधि स्वास्थ्यकर्मीका सल्लाह विना सेवन गरिनु हुँदैन’ भन्ने चेतनाका अभाव छ ।

सुरक्षित गर्भपतन सेवा लिन स्वास्थ्य संस्थामा गएकी पाल्पाको बगनास गाउँपालिका–२ की २९ वर्षीया गीता पाण्डे सदाका लागि असुरक्षित भइन् । तीन स्वास्थ्य संस्था धाउँदा धाउँदै यही वैशाख ६ गते उनको अकालमा मृत्यु भयो । बुटवल उपमहानगरपालिकास्थित खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिकको ‘हेलचेक्र्याइँ’ नै उनको निधनको प्रमुख कारक बन्यो ।

नेपाल मेडिकल काउन्सिलले हालैको बुटवल घटनाबारे सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले औँल्याउँदछ “आर्थिक लाभका लागि विना रेकर्ड गर्भपतन गराउने कार्य बढिरहेको र यसकै कारण महिलाहरू जोखिममा परी मृत्युदर समेत बढेकाले सो कार्यलाई रोक्नका लागि आवश्यक नीति बनाई कार्यान्वयनमा ल्याउनुपर्छ । ”

बुटवल उपमहानगरपालिकास्थित खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिक गर्भपतन सेवाका लागि सूचीकृत छैनन् । साथै गीताको उपचारमा संलग्न भनिएका स्वास्थ्यकर्मीसमेत गर्भपतन सेवाका लागि तालिम अप्राप्त व्यक्ति हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव एवं निवर्तमान प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार गर्भपतन सेवाका लागि सेवा प्रदायक स्वास्थ्य संस्था अनिवार्य सूचीकृत हुनैपर्छ र स्वास्थ्यकर्मीले आवश्यक तालिम लिएकै हुनुपर्छ ।

स्वास्थ्यकर्मीले गर्भपतन गराउन गीतालाई दिएको औषधि कुन थियो, यो औषधिको बिक्रीका लागि औषधि व्यवस्था विभागमा दर्ता गरिएको थियो कि थिएन नेपाल मेडिकल काउन्सिलद्वारा गठित छानबिन समितिले अध्ययन गरिरहेको छ । काउन्सिलका सदस्य डा. सम्राट पराजुली नेतृत्वको छानबिन समितिले अन्तिम प्रतिवेदन नआएसम्म बुटवलका जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिक ‘सिल’ गर्न सिफारिस गरेको छ ।

मेडिकल काउन्सिलका रजिस्ट्रार डा. शतिशकुमार देवले बुटवल घटनाको प्रारम्भिक प्रतिवेदन तयार गरिएको, यसका केही सुझाव कार्यान्वयनमा समेत आइसकेको र अन्तिम प्रतिवेदन तयार भएपछि घटनाबारे विस्तृत विवरण आउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस