६५ मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु

सफल खबर संवाददाता

सोमबार, १४ बैशाख २०८३, १० : २७
६५ मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।

हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको आयोजनाले पहुँचमार्ग (सडक), विद्युत्गृह, सुरुङ र प्रसारण लाइन निर्माणलाई समानान्तर रुपमा अघि बढाएको हो ।

बगर गाउँदेखि बाँध निर्माणस्थल दोभानसम्म डाइभर्सनबाट सडक र बगरमा कार्यालय स्थापना गरेको आयोजनाका प्रमुख उत्तम पौडेलले विद्युत्गृहबाट निस्कने पानी फाल्न एक हजार १३० मिटर लामो ‘टेलरेस’ सुरुङ निर्माण थालिएको जानकारी दिए ।

‘बगर–तातोपानी खण्डको भिरमा सडक निर्माण नसकिदाँसम्म म्याग्दी नदीको किनारै किनार डाइभर्सन बनाएर बाँध निर्माण स्थल दोभानसम्म करिब १० किलोमिटर पहुँचमार्ग पु¥याएका छौँ,’ उनले भने, ‘टेलरेस टनेल खन्न थालेको सिभिल ठेकेदार भूगोल इन्फ्रास्ट्रक्चरले विद्युतगृह, बाँध र मुख्य सुरुङ खन्ने तयारी गरेको छ ।’

म्याग्दी र कुनाबाङ खोलाको दोभानमा निर्माण हुने बाँधबाट ७५ मिटर लामो र ११ दशमलव नौ मिटर अग्लो बालुवा थिग्राउने पोखरी ‘डिसेन्डर’ मा सङ्कलन गरी ७१० मिटर लामो ‘पाइपलाइन’बाट ल्याइने पानीलाई तीन हजार छ सय मिटर लामो सुरुङमा हालिनेछ । पुनः ७५० मिटर पाइपलाइनबाट ल्याइने पानीलाई ६०७ मिटर उचाइबाट पहाडभित्र रहने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने पौडेलले जानकारी दिए ।

‘रन अफ रिभर’ प्रकृतिको आयोजनामा २०९ मिटर ठाडो सुरुङ, २३० मिटर ‘प्रेसर टनेल’, ५८७ मिटर ‘इनकलाइन्ट टनेल’ र ७५७ मिटर ‘पेनस्टक पाइप’का संरचना रहनेछन् । विद्युतगृहमा तीन वटा युनिट ‘टर्वाइन’ रहनेछन् ।

आयोजनाबाट प्रतिघण्टा सुक्खायाममा ११७ दशमलव ८२ र बर्खायाममा २६४ दशमलव ४५ गिगावाट विद्युत उत्पादन हुनेछ ।

बगर र तातोपानीको बीचमा रहेको पहाडमा बाहिरी भागबाट ६४० मिटर लामो सुरुङ खनेर त्यसभित्र भूमिगत विद्युतगृह बनाउन लागिएको हो । बगरदेखि १६ दशमलव पाँच किलोमिटर दूरीमा रहेको डाँडाखेत सबस्टेसनबाट केन्द्रीय प्रणालीमा विद्युत पठाउनका लागि १३२ केभी क्षमताको ‘डबल र मल्टीसर्किट’ प्रसारण लाइन निर्माणको प्रक्रिया अघि बढेको आयोजनाका जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीले बताए ।

प्रतिमेगावाट २० करोडका दरले १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट २०८४ साल चैत महिनादेखि विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । सिभिल ठेकेदार गत पुस महिनादेखि परिचालन भएको हो भने इलेक्ट्रोमेकालिक र हाइड्रोमेकानिकल ठेकेदार छनोटको चरणमा रहेका आयोजना व्यवस्थापक प्रमेश थापाले बताए ।

केही दिनमा भैँसीखर्कमा नेपाली सेनाको ‘क्याम्प’ (आधार शिविर) राख्ने तयारी भएको छ । विस्फोटक पदार्थको सुरक्षाका लागि नेपाली सेनाको क्याम्प राखेपछि मुख्य सुरुङ खन्ने तयारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस