चितवन । भरतपुर अस्पतालले खरिद गर्ने भनिएको ‘म्याग्नेटिक रिजोनेस इमेजिङ’ (एमआरआई) मेसिनको खरिद प्रक्रिया अन्योलमा परेको छ। आर्थिक वर्ष सकिनै लाग्दा पनि मेसिन खरिद प्रक्रिया सुरु नहुँदा बजेट नै फ्रिज हुने हो कि भन्ने आशङ्का बढेको छ। भरतपुर अस्पतालका लागि यो मेसिन खरिद गर्न स्वास्थ्य मन्त्रालयले २५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ।
भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलले आव सकिनै लाग्दा पनि विनियोजित बजेट निकासा नभएकाले एमआरआई मेसिन खरिद हुन नसक्ने हो कि भन्ने चिन्ता व्यक्त गरे। उनले भने, “मन्त्रालयकै निर्देशनमा मेसिन खरिदका लागि हामीले ठेक्का प्रक्रिया सकेर खरिद प्रक्रिया अगाडि बढाउन मन्त्रालयमा पत्राचार गरिसकेका छौँ तर अहिलेसम्म कार्यान्वयन भएको छैन।” ढाड तथा मेरुदण्ड, घुँडा, हाडमा लागेका रोग, विभिन्न ट्युमर जस्ता रोगको पहिचानका लागि चुम्बकीय शक्तिबाट चल्ने अति नै उच्चस्तरको प्रविधि नै एमआरआई हो।
भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। कृष्णप्रसाद पौडेलले भने मेसिन खरिद प्रक्रियामै रहेको बताए। “अस्पतालले ई–टेन्डर आह्वान गरी ३० करोड रुपियाँ पर्ने अत्याधुनिक मेसिनलाई २९ करोड रुपियाँमा खरिद गर्न टेन्डर स्वीकृतिका लागि बजेट सुनिश्चित गराउन स्वास्थ्य मन्त्रालय पठाएका छौँ,” उनले
भने। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। रोशन पोख्रेलले भने अस्पतालले गरेको मेसिन खरिद प्रक्रियामै त्रुटि रहेको बताए। “एमआरआई मेसिन खरिद गर्न बजेट विनियोजन भए पनि भरतपुर अस्पतालसहित ट्रमा सेन्टर र भक्तपुर अस्पतालले खरिद प्रक्रिया पूरा नगरी त्रुटि गरेको भन्ने माननीय मन्त्रीबाट राय आएकै कारण खरिद प्रक्रिया अगाडि नबढेको हो,” उनले भने।
यी अस्पतालले खरिद प्रक्रियाका लागि अवलम्बन गरेका प्रक्रियाबारे अध्ययन गर्न मन्त्रालयले सचिवस्तरीय कार्यदल बनाएको बताउँदै उनले सो कार्यदलकै सुझावका आधारमा थप प्रक्रिया अगाडि बढाइने जानकारी दिए। “कार्यदलले अहिले अध्ययन गरिरहेको छ। मेसिन खरिद प्रक्रिया अगाडि बढ्छ वा रोकिन्छ यसै भन्न सकिने अवस्था छैन,” डा पोख्रेलले भने।
भरतपुर अस्पताल चितवन र यस वरपरका ११ वटा जिल्लाका बिरामीले उपचार गराउने मुख्य अस्पताल हो। “एमआरआई मेसिनको अभावमा हामी मेडिकल कलेज र निजी अस्पतालमा बिरामी पठाउन बाध्य छौँ,” मेसु डा। पौडेलले भन्नुभयो। अहिले दैनिक २० देखि ३० जना एमआरआई गर्नुपर्ने बिरामी अस्पतालले अन्यत्र पठाइरहेको छ। चितवनमा दुई मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र एक निजी क्षेत्रको अस्पतालमा एमआरआई सेवा रहेको खबर आजको गोरखापत्रले छापेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असार २०८०, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशमै प्रथम
बीमामार्फत दिइने सेवा रोक्ने भरतपुर अस्पतालको तयारी
भरतपुर अस्पतालले बिमाको रकम नपाउँदा उपचारमा समस्या
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित