तनाब कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका

एजेन्सी

शनिबार, २० जेठ २०८०, १९ : ४५
तनाब कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका

सिङ्गापुर । संयुक्त राज्य अमेरिकाले दुई महाशक्तिराष्ट्रबीच द्वन्द्व निम्त्याउन सक्ने ‘असमझदारी’ बाट बच्न चीनसँग वार्ता गर्नु ‘आवश्यक’ भएको बताएको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सिंगापुरमा भएको रक्षा शिखर सम्मेलनको अवसरमा चिनियाँ समकक्षी ली शाङफुलाई भेटका लागि निमन्त्रणा गरेका तर बेइजिङले अस्वीकार गरेको पेन्टागनले बताएको छ ।

चिनियाँ प्रतिनिधिमण्डलका एक सदस्यले एएफपीसँग कुरा गर्दै आफ्ना मन्त्रीमाथिको अमेरिकी प्रतिबन्ध हटाउनु वार्ताका लागि पूर्वशर्त भएको बताए । शीर्ष अमेरिकी अधिकारीहरू क्षेत्रीय गठबन्धन र साझेदारीलाई बढावा दिन अधिक आक्रामक चीन र उत्तर कोरियासँगको बढ्दो शत्रुतालाई कम गर्न एसियाको भ्रमणमा छन् ।

यसै अभियानका लागि उनले यो साता जापानको पनि भ्रमण गर्नुभएको थियो । अष्टिनले समझदारी निर्माण गर्न कुटनीतिक पहलका लागि भ्रमणका क्रममा भारत पनि पुग्नुहुनेछ । शनिबार आफ्नो सम्बोधनमा अस्टिनले विश्वका दुई शक्तिबाली अर्थतन्त्रका सेनाबीच सङ्कट व्यवस्थापनका लागि राम्रो संयन्त्रमा चीनले थप गम्भीरतापूर्वक संलग्न हुन नचाहेकोमा आफुलाई दुःख लागेको बताए । आइतबारको बैठकलाई सम्बोधन गर्ने लिलाई सन् २०१८ मा अमेरिकी सरकारले रूसी हतियार खरिद गरेको आरोपमा प्रतिबन्ध लगाएको थियो तर पेन्टागनले अस्टिनलाई लीसँँग आधिकारिक कारोबार गर्नबाट नरोकेको बताएको छ ।

अस्टिनको टिप्पणीलाई लिएर तत्काल प्रतिक्रिया दिँदै चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्णेल ताङ हेफेईले पेन्टागन प्रमुखले ‘धेरै झूटा आरोपहरू लगाएको’ बताए । चिनियाँ प्रतिनिधिमण्डलका अर्का सदस्य वरिष्ठ कर्नेल झाओ सियाओझुओले चीनलाई के गर्ने भनेर वासिङ्टनको निर्देशनको कुनै अर्थ नभएको बताए ।

वासिङ्टन र बेइजिङबीच ताइवान र कथित चिनियाँ जासुसी बेलुन, जसलाई अमेरिकी लडाकू विमानले खसालेको थियो, लाई लिएर तनाव बढेको छ । अस्टिन र लीले शुक्रबार को उद्घाटन सत्रपछिको रात्रिभोजमा पहिलो पटक हात मिलाए र छोटो कुराकानी गरे, तर कुनै ठोस आदान–प्रदान भएन ।

संयुक्त राज्य अमेरिका र चीनबीचको उच्चस्तरीय सैन्य सम्बन्ध महिनौंदेखि विच्छेद भए तापनि अन्य शीर्ष अमेरिकी अधिकारीहरू अझै पनि बेइजिङसँग सम्पर्कमा छन् । सीआईएका निर्देशक विलियम बन्र्सले गत महिना चीनको गोप्य भ्रमण गर्नुभएको थियो भने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र उच्च चिनियाँ कूटनीतिज्ञ वाङ यीबीच मे महिनामा भियनामा भेटवार्ता भएको थियो ।