रेनु दाहाल हिंसाको सिकार कहिलेसम्म ?

सफल खबर संवाददाता

शनिबार, ०९ बैशाख २०८०, १७ : १८
रेनु दाहाल हिंसाको सिकार कहिलेसम्म ?

खिमा रिजाल

मुलुक यति बेला उपनिर्वाचनको मैदानमा होमिएको छ । प्रतिस्पर्धीहरू मैदानमा ज्यान फालेर लागेका छन् । ज्यान मात्रै फालेका छैनन् एक आपसको गाली गलौचमा प्रतिस्पर्धा नै गरेका छन्, मानौँ गाली नगर्ने हो भने एक तह पछाडि परिन्छ । यसरी यी र यस्ता हरकत भइरहँदा सदाझैँ यस पटकको चुनावमा पनि प्रधानमन्त्री पुत्री एवम् भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालमाथि फेरि अर्को झटारो फालिएको छ । पटक पटकको झटारोले पङ्क्तिकारको मनमा उब्जिएका भावना, तिक्तता, उकुसमुकुसहरू उजागर गर्ने जमर्को गरिएको छ । 

उपनिर्वाचनको सरमगरमसँगै मैदानमा प्रतिस्पर्धीहरू उत्रिइरहँदा तनहुँ, चितवन र बारामा नेकपा.माओवादी केन्द्रको उम्मेदवार मैदानमा छैनन् । गठबन्धनको पक्षधर भएको नाताले रेणु दाहालले पनि आफ्नो पार्टीले ऐक्यबद्धता जनाएका उम्मेदवारलाई मत माग्दै चुनावी सभालाई सम्बोधन गरिन् ।  तर उनले गरेको सम्बोधनको विषयलाई लिएर चुनावी मैदानमा भने मेयर रेणु दाहालमाथि सुन्नै नसकिने गाली बर्सिए । 

को हुन रेनु दाहाल ?
सबैबाट नछिपेको विषय प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को दोस्रो सन्तान अर्थात् पुत्री हुन् रेनु दाहाल । त्यसो त उनी २०३३ सालमा भरतपुर महानगरपालिकामा जन्मी हुर्किएकी  हुन् । उनको बाल्यकाल चितवनमै बित्यो । प्रधानमन्त्री पुत्री भएकोले प्रधानमन्त्रीको राजनीतिक गतिविधिबाट उनी अछुतो बनिनन् । नेपालका उच्च तहका प्राय सबै वामपन्थी नेताहरूको छत्रछायामा नै उनको बाल्यकाल बित्यो भन्दा अत्युक्ति नहोला । सानैदेखि कम्युनिस्ट आन्दोलनको छापले उनी असङ्गठित रूपमा रहन सकिनन् । त्यसैले उनले २०५० सालमा नेतृ हिसिला यमिको हातबाट पार्टी सदस्यता ग्रहण गरिन् । जनयुद्धको थालनीसँगै सुरक्षाको कारण उनी र उनको परिवार चितवनबाट नेपाल र भारतका विभिन्न ठाउँमा स्थानान्तरण भए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धको नेतृत्व गरिसकेपछि पढाइलाई समेत निरन्तरता दिन सकिनन् ।


यसै क्रममा उनले २०५३ सालमा प्रवासका नेता डीबी पाठकका छोरा अर्जुन पाठकसँग पार्टीका शीर्ष नेताहरूको सहभागितामा जनवादी विवाह गरिन् । विवाह पश्चात् उनी प्रवासमै रहेर जनयुद्धलाई सहयोग गरिन् । काम गर्दै जाने सन्दर्भमा महिलाको इकाई सदस्यमा सङ्गठित हुँदै  २०५९ सालमा अखिल भारत नेपाली महिला संघको अध्यक्षको भूमिका निर्वाह गरिन् । विद्रोहीहरूको ढाडमा टेकेर टाउकोमा हान्ने योजना अन्तर्गत उनी  २०६१ सालमा रोल्पाको सह इन्चार्जको भूमिका निर्वाह गर्न पुगिन् । यसै बिचमा उनलाई स्वास्थ्यले धोका दिन पुग्यो  र २०६३ सालमा उनी उपचारको क्रममा काठमाडौँ पुगिन् । २०६३ सालमा उनले फेरि स्वास्थ्य र पार्टीको कामलाई निरन्तरता दिदै काठमाडौँ जिल्लाको सह सेक्रेटरीको भूमिका निर्वाह गरिन् ।

 उनी दोस्रो संविधान सभाको चुनावमा काठमाडौँ क्षेत्र नं १० बाट प्रकाशमान सिंहको प्रतिद्वन्द्वी भई चुनावी मैदानमा होमिएकी थिइन् र  दोस्रो स्थान हासिल गर्न सफल बनेकी थिइन् । 

 यो वा त्यो रूपमा कहिले प्रवास त कहिले स्वदेशमा रहेर, आवश्यकता बमोजिम अग्र मोर्चा वा पृष्ठ मोर्चाको नेतृत्व गरिन् । द्वन्द्वको उद्गम मानिने रोल्पाको समेत नेतृत्व सम्हालेकी रेणु दाहाल हाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिकाकी मेयर समेत रहेकी छन् । त्यसो त उनको यो महानगरपालिका प्रमुख भने दोस्रो कार्यकाल हो । ३ दशक लामो राजनीतिक जीवन गुजार्दै उनी यो अवस्थामा पुगेकी हुन् । उनी एकाएक मेयरको टीका थापेकी होइनन् । शान्ति प्रक्रियामा सङ्गठित बनेका कैयौँ पात्र पालिकाका प्रमुख, उपप्रमुख, सांसद, मन्त्री बनिसकेको यो पङ्क्तिकारको आँखाबाट पनि छिपेको छैन । मेयर रेणु दाहालको राजनीतिक लगानी कम देखिँदैन । उनी ३ दशक यता निरन्तर राजनीतिमा सक्रिय छन् । ३ दशक लामो राजनीतिक यात्रा तय गर्दा प्राप्त भएको पदीय जिम्मेवारी प्रधानमन्त्री पुत्री भएबापत दयामायाले प्रदान गरिएको भने देखिँदैन । यो त केवल विरोधको लागि विरोध मात्रै भएको भन्न सकिन्छ ।

उपनिर्वाचनमा ट्रोल ...
प्रत्येक पटक झैँ यस पटकको उपनिर्वाचनमा विगतमा झैँ उनीमाथि प्रहार गरियो । मानौँ उनी निर्जीव बस्तु हुन् । खासगरि गठबन्धन इतरका दलका प्रत्येक वक्ता प्रतिनिधिले मतपत्र चपाएकी, मतपत्र च्यातेर मेयर बनेकी, भारतीय नागरिक, राजकुमारी, शक्तिको दुरुपयोग गरेकी आदी आदी । अघिल्लो निर्वाचनमा केही उदण्ड व्यक्तिहरूले मतपत्र च्याते । ती व्यक्तिहरूलाई कानुनी कारबाही गरियो- निर्वाचन आयोगले पुन निर्वाचन गरायो । रेणु दाहालले मेयर पदमा विजय हासिल गरिन र मेयर बनिन । तर मतपत्र च्यातेको दोष अहिलेसम्म पनि उनलाई प्रहार गरेको गर्यैछ । त्यति मात्रै होइन उनी दोस्रो निर्वाचनमा भारी मतान्तरले पुन मेयर पदमा विजयी बनिन र अहिले देशकै ६ वटा महानगर पालिकामा सबैभन्दा सर्वोत्कृष्ट विकास निर्माण र कार्यसम्पादन गर्ने महानगरपालिकामा परेकी छन् ।
 प्रधानमन्त्री पुत्री भएको कारण पक्कै विकास निर्माणमा आर्थिक पहुँच अन्य मेयरलाइ भन्दा सहज भयो होला । तर इच्छाशक्ति विना यो सम्भव हुने थिएन । अहिले चितवनका बासिन्दाले विकास निर्माणमा प्रत्यक्ष महसुस गरेका छन् । महानगरपालिकामा विकास गर्नु उनको कमजोरी हो । महानगरपालिकामा न्यून बेरुजु आउनु उनको कमजोरी हो । सुकुम्वासीहरूले जग्गाधनी पुर्जा पाउनु उनको कमजोरी हो । पक्कै होइन होला । ३ दशक लामो राजनीतिक यात्रा गरिसकेपछि प्रतिस्पर्धामा उत्रनु अपराध हो । सरसरती हेर्दा उनको यहाँसम्मको यात्रा अथक मेहनत नै मुख्य विषय हो भन्ने देखिन्छ ।

 

दोहोरो नागरिकताको दोष
हामी सबैलाई थाहा छ खुल्ला सिमाना, धार्मिक तथा सांस्कृतिक समानताको कारण भारतसँग हाम्रो सबै खाले सम्बन्ध स्थापित छ । भारतसँग हाम्रो बिहाबारी, लेनदेनको सम्बन्ध छ । भारतका चेलीबेटी नेपालमा बुहारी र नेपालका छोरी भारतमा बुहारी बन्ने प्रचलन परम्पराबाट नै थियो । भारतका मान्छेहरू नेपालमा कामको खोजीमा आउने र नेपालका मान्छेहरू रोजीरोटीको निम्ति भारत जान्छन् । त्यस्तै जनयुद्धको कारण देश सङ्कटकालीन अवस्थामा प्रवेश गरेसँगै कैयौँ नेता कार्यकर्ता नेपाल र भारतको भूमिमा रहेर जनयुद्धको नेतृत्व गरेका थिए । गुल्मीका डिवि पाठक पनि राजनीतिक कामको सन्दर्भमा भारत पसेका थिए । जनयुद्धको थालनीसँगै उनका छोरा अर्जुन पाठकसँग रेणु दाहालले २०५३ सालमा विवाह गरिन् । यसरी हेर्दा उनका परिवार बंसजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने नेपाली नागरिक हुन् ।
नेपाली नागरिककी बुहारी, श्रीमती कसरी भारतीय नागरिक बनिन् । रेणु दाहाल उपनिर्वाचनको उम्मेदवार पनि होइनन् न त उनी पहिलो वरियताकी नेतृ नै हुन् ।  चुनाव नजिकिएसँगै गठबन्धन इतरका शक्ति फेरि उनीमाथि खनिए । सामाजिक सञ्जाल रेणु दाहाल विरुद्ध रगिंयो । अहिले सामाजिक सञ्जाल नाङ्गो आँखाले हेर्न मिल्ने खालको छैन । प्रधानमन्त्री पुत्र प्रकाश दाहालको मृत्यु भएको पनि केही वर्ष बितिसकेको छ ।  प्रकाश दाहालको कमजोरी देखाएर रेणु दाहाललाई तथानाम गाली गलौच गरिएको छ । मानौँ उनको सबै कमजोरीको जिम्मा रेनु दाहालले लिनु पर्नेछ । 

अन्त्यमा जनयुद्धको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गरे । जनयुद्धमा दोहोरो पक्षबाट हजारौँ व्यक्तिको मृत्यु हुन पुग्यो अहिले पनि कैयौँ मान्छे बेपत्ता छन्, घाइते अपाङ्ग छन् । प्रधानमन्त्रीलाई आलोचना र विरोध गरिरहँदा रेणु दाहाल माथि पनि प्रहार गरिन्छ । कहिले चरित्रमाथि औला उठाइन्छ त कहिले राजनीतिक हमला गरिन्छ । आफूलाई बौद्धिक हुँ भन्नेले समेत उनीमाथि राजनीतिक , चारित्रिक र सुन्नै नसकिने टिप्पणी गरिएको अवस्था छ । सधैँ सधैँ यसरी खेदिइरहनु पर्ने प्रधानमन्त्रीको सन्तान भएर हो भने यो सरासर गलत हो । 
हरेक मानिसको स्वतन्त्रता पूर्वक जिउने अधिकार हुन्छ । महिला भएकै कारणले पटक पटकको हिंसा गरिएको र अनेक सत्तोसराप गरिएको हो भने उनी माथिको हिंसाको आकलन गर्नै नसकिने खालको छ । यस्तो ट्रोलको सिकार बनाइ रहँदा दल भन्दा माथि उठेर महिलाको पक्षमा आवाज उठाउने जो कोहीले पनि आवाज उठाउनु पर्ने होइन र ? कामको इर्श्याले गालीगलौज गरिएको हो भने अन्य महानगरपालिकाका प्रतिनिधिले उनको महानगरपालिकाबाट विकासको मोडेल सिक्दा केही फरक पर्ला र । 

यदि विधिको शासन कायम नै रहेको अवस्था हो भने यसरी सधैँ यउटै मान्छेमाथि प्रहार गरिरहँदा कानुन आकर्षित हुनु पर्ने होइन र ? भनिन्छ जसरी एउटा हार्ड डिस्कमा निश्चित क्षमता हुन्छ त्यस्तै मानिसको ब्रेनमा पनि प्रतिरोध गर्ने निश्चित क्षमता हुन्छ । के सधैँको प्रहार र ट्रोल बनाएर मानसिक रूपमा अशक्त बनाउन खोजिएको हो ? एक त राजनीतिमा महिलाको सहभागिता र नेतृत्व निमार्णको निरन्तरता तथा नीति निमार्णको तहसम्म पुग्न कठिन छ । त्यस्तै बल्लबल्ल नेतृत्व गर्ने तहमा पुग्न कोसिस गरेका महिलामाथि यसरी जाइलाग्दा उनमा पर्ने मानसिक असरको जिम्मा कसले लिने ? अथवा यो ट्रोलको सिकार कहिलेसम्म बनाइ रहने ? हामी सबै जिम्मेवार नागरिकले एक पटक म म भनेर सोच्ने कि ?

प्रतिक्रिया दिनुहोस