‘निर्वाचनको वातावरण सरकारले बनाइसक्यो’: मन्त्री खरेल

सफल खबर संवाददाता

बुधबार, १७ मंसिर २०८२, १२ : १२
‘निर्वाचनको वातावरण सरकारले बनाइसक्यो’: मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलले अपांगता भएका व्यक्तिहरूको हक अधिकार स्थापित गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौँमा आयोजित प्रभात फेरीपछि सभालाई सम्बोधन गर्दै मन्त्री खरेलले सो धारणा राखेका हुन् ।

वर्तमान सरकारको कार्यकाल छोटो रहे पनि अपांग महासंघसँग छलफल गर्दै आवश्यक ऐन कानून निर्माण गरिने उनले बताए ।

त्यस्तै मन्त्री खरेलले ६ महिनाभित्र निर्वाचन गर्ने म्याण्डेडका साथ सरकार गठन भएकाले जसरी भए पनि निर्वाचन सम्पन्न गर्ने दाबी गरे । निर्वाचनका लागि सरकारले उचित वातावरण बनाइसकेको उनले जिकिर गरेका छन् ।

अपांगता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसंघको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपांग महासंघ लगायत विभिन्न संघसंस्थाले बुधबार काठमाडौँमा प्रभात फेरी आयोजना गरेका थिए । प्रभात फेरीपछि भृकुटीमण्डपमा सभा आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस