आर्थिक क्षेत्रमा सकारात्मक संकेतहरु देखिन थालेका छन् : सभामुख देवराज घिमिरे

सफल खबर संवाददाता

शुक्रबार, ०१ बैशाख २०८०, १२ : ५१
आर्थिक क्षेत्रमा सकारात्मक संकेतहरु देखिन थालेका छन् : सभामुख  देवराज घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले  संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई मजबुत बनाउँदै जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने अभियानलाई तीव्रता दिन सकिने वातावरण बनेको बताएका छन् ।नयाँ वर्ष २०८० को शुभकामना सन्देश जारी गर्दै उनले नेपालीहरु निराश हुनुपर्ने अवस्था नरहेको बताएका हुन् ।‘नयाँ वर्ष प्रवेश गरिरहँदा आर्थिक क्षेत्रमा सकारात्मक संकेतहरु देखिन थालेका छन्’ सभामुख घिमिरेले शुभकामना सन्देश मा भनेका छन्, ‘अब राजनीतिक नेतृत्वले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउन विशेष योजना, मार्गचित्र निर्माण गरी कार्यारम्भ गर्न जरुरी छ ।’

राज्यका तीन अंगहरुमध्ये कानून निर्माण गर्ने मुख्य थलो संसद भएको र प्रतिनिधि सभाले विधेयकहरूमाथिको छलफल सुरु गरेको उल्लेख गर्दै उनले संसदलाई अझै प्रभावकारी र गतिशील बनाउन सबै राजनीतिक दलहरूसँग छलफल चलिरहेको बताएका छन्। ‘जनसहभागिता, राजनीतिक सहमति, सहकार्यका आधारमा संसदले बनाउने कानूनले आर्थिक, सामाजिक, साँस्कृतिक रूपान्तरण र सुशासन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छु’ सभामुख घिमिरेले लेखेका छन्, ‘जनताको सार्वभौमसत्ता प्रयोग हुने संसदलाई प्रभावकारी बनाउँदै जनमुखी र प्रगतिशील कानून निर्माण गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।’

तथापि, नयाँ वर्षमा प्रवेश गरिरहँदा विगतको वर्षको समीक्षा गर्न आवश्यक रहेको सभामुख घिमिरेको भनाइ छ ।उनले लेखेका छन् ,‘२०७९ सालमा तीनवटा निर्वाचन सम्पन्न भई मुलुक नयाँ जनप्रतिनिधिको  काँधमा आएको छ । जनताको म्यान्डेटअनुसार प्रदेश र संघमा नयाँ सरकारसमेत निर्माण भइसकेको छ । राजनीतिक रूपमा अघिल्लो वर्ष परिवर्तनको वर्ष भए पनि आर्थिक र पूर्वाधार विकासमा भने उल्लेख्य प्रगति हुन सकेन ।’

प्रतिक्रिया दिनुहोस