संसदमा एमालेको प्रश्न : सरकार कसका लागि बनेको हो ?

सफल खबर संवाददाता

सोमबार, २७ चैत्र २०७९, १५ : ०६
संसदमा एमालेको प्रश्न :  सरकार कसका लागि बनेको हो ?

काठमाडौँ । प्रतिपक्षी दल नेकपा (एमाले)को प्रमुख सचेतक पदम गिरीले सरकार कसको निम्ति बनेको हो भन्दै प्रश्न गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले भने,‘बैंकमा लगानीयोग्य पुँजी दुई खर्बभन्दा बढी छ । तर, हामीलाई ऋण चाहियो भनेर कोही जान सक्ने स्थिति छैन ।'

ब्याज तिरेर व्यवसाय धान्न सक्ने स्थिति नरहेको  उनको भनाइ छ । ‘यसतर्फ सरकारले के हेरेर बसेको छ ? यो सरकार कसका निम्ति बनेको हो ?,’ गिरीको प्रश्न छ ।पैसा नभएको बहानामा कृषि मल वृद्धि गर्न लागेको र किसानलाई गुमराहमा राखेको उनले बताए । सरकारका मान्छे बिचौलियासँग जोडिएकाले कृषि उपजले उचित मूल्य नपाएको उनको दाबी छ ।

उनले अर्थतन्त्रको अवस्था बिग्रिएको भनेर उपप्रधानमन्त्रीले बाहिर बोलेको भन्दै  प्रधानमन्त्री र अर्थमन्त्रीले संसद्मा किन नबोलेको भन्ने प्रश्न गरे । प्रधानमन्त्रीले समस्या समाधानका निम्ति केके विकल्प सोचिरहेका छन् भन्दै संसदमा जानकारी गराउनुपर्ने उनले बताए । यस्तै गिरीले प्रतिनिधिसभाको पहिलो बैठक बसेको ९१ दिनमा २१ वटा मात्रै बैठक बसेकोमा सरकारको ध्यानाकर्षण गराए ।

‘पेश भएका विधेयकहरुमाथि सैद्धान्तिक छलफल भए । तर, संसदीय समिति बनाएर अगाडि लैजान सकिरहेका छैनौं,’ उनले भने ।