बज्रयोगिनी माईको मूल जात्रा हेर्न बालेन र चिरिबाबु साँखु जाने

सफल खबर संवाददाता

मंगलबार, २१ चैत्र २०७९, १३ : ३७
बज्रयोगिनी माईको मूल जात्रा हेर्न बालेन र चिरिबाबु साँखु जाने

काठमाडौँ । काठमाडौँ महानगर प्रमुख बालेन शाह र ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन बज्रयोगिनी माईको मूल जात्रा हेर्न साँखु जाने भएका छन् । शंखरापुर नगरपालिकामा रहेको प्रसिद्ध धार्मिक पर्व बज्रयोगिनीको मूल जात्राको अवसरमा यही चैत २६ गते मूल जात्राको दिन दुई मेयर महर्जन र शाह साँखु जाने भएका हुन् ।शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित, प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनाल, वडा नम्बर ६ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ लगायतले बज्रयोगिनी जात्राको अवलोकनका लागि उनीहरूलाई निम्तो गरेका छन् । 

काठमाडौँ महानगर र ललितपुर महानगर सांस्कृतिक पर्व उत्सवहरूले भरिपूर्ण रहेको अवस्थामा काठमाडौँको पूर्वी छेउमा रहेको साँखुको ऐतिहासिक पर्वको अवलोकन गराउन दुई मेयरलाई निम्तो गरिएको नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए । शंखरापुर नगरपालिकामा आन्तरिक र बाह्य पर्यटनलाई वृद्धि गर्ने, सो क्षेत्रका पर्यटकीय क्षेत्रहरूको चिनारी बढाउनका लागि नगरपालिकाले विभिन्न खालका योजनाहरू अघि बढाएको उनले बताए । काठमाडौँ उपत्यकामा प्राचीन कालदेखि निरन्तर सञ्चालन हुँदै आएको जात्रा मध्ये श्री श्री श्री उग्रतारा बज्रयोगिनी माईको जात्रा सवैभन्दा पुरानो जात्राको रूपमा रहेको छ । ८ दिनसम्म चल्ने लामो जात्राको रूपमा रहेको यो पर्व शंखरापुरको साँखुमा यही चैत २३ गतेदेखि सुरु हुँदैछ । 

चैतेदशैंको दिन नायखीं बाजा बजाएर झ्याली पिट्दै नगर परिक्रमा गरेर यो पर्व सुरु हुन लागेको सङ्केत गर्ने प्रचलन रहेको छ । सो दिनदेखि साँखुवासीले पवित्रताका लागि छालाका सामग्री प्रयोग नगर्ने, पुराना घर नभत्काउने, साहुले पैसा ऋण असुल उपर नगर्ने हात्ती घोडा नचढ्ने लगायतका काम गर्छन् । यो जात्रामा साँखुको छेउमा रहेको मणीचुड पर्वतमा रहेको बज्रयोगिनी मन्दिरबाट बज्रयोगिनी माईको मूर्ति र चिभाः द्यः अर्थात प्राचिन स्वयम्भु चैत्य, सिंहमुखी, बाघमुखी मूर्तिलाई खटमा राखेर साँखु बजारमा ल्याई नगर परिक्रमा गराउने गरिन्छ । ८ दिनसम्म लाग्ने यो मेलामा काठमाडौँ, भक्तपुर, ललितपुर लगायतका क्षेत्रबाट भक्तजन तथा दर्शकहरू साँखु पुग्ने गर्दछन्। 

प्रतिक्रिया दिनुहोस