सेयर बजारमा २० अंकको गिरावट, कारोबार रकम १ अर्ब २० करोड

सफल खबर संवाददाता

आइतबार, १९ चैत्र २०७९, १५ : ३३
सेयर बजारमा २० अंकको गिरावट, कारोबार रकम १ अर्ब २० करोड

सेयर बजार  गिरावट भएको छ । पहिलो कारोबार दिन नै सेयर बजार परिसूचक नेप्सेमा १.०५ प्रतिशतको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा २० अंकको गिरावट हुँदा १८८८.५५ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित सबै उपसूचकमा गिरावट हुँदा नेप्से दोहोरो अंकले घटेको छ । व्यापार उपसूचक सर्वाधिक २.५८ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १.६३ प्रतिशतले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक १.०८ प्रतिशतले गिरावट भएको हो ।

गत सातको अन्तिम दुई कारोबार दिन लगातार १ अर्बबाट तल झरेको कारोबार रकम आइतबार भने बढेको छ । गत बुधबार ८२ करोड र बिहीबार करिब ९० करोडको कारोबार भएको बजारमा आइतबार १ अर्ब २० करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । ३२ हजार ४१४ वटा कारोबारमा ३७ लाख ८७ हजार २४१ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा उक्त रकमको सेयर कारोबार भएको हो ।

आइतबार नेप्सेमा कारोबार भएकामध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ५ करोड ६ लाखको सेयर कारोबार हुँदा शिवम् समेन्टको ४ करोड ५१ लाख र रिडी पावर कम्पनीको ३ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबार सेयर बजारमा २१६ कम्पनीको सेयर कारोबार भएकोमा १८९कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै २३ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ४ कम्पनीको सेयरमूल्य स्थिर छ । आइबार कालिञ्चोक दर्शन कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा जीवन विकास लघुवित्तको सेयरमूल्य ४.८७ प्रतिशत र स्वेत गंगा हाइड्रोपावरको सेयरमूल्य २.५० प्रतिशतले वृद्धि भएको छ ।

स्वाभीमान लघुवित्तको सेयरमूल्य ९.६१ प्रतिशतले गिरावट हुँदा कालिका लघुवित्तको सेयरमूल्य ७.४९ प्रतिशत र विजय लघुवित्तको सेयरमूल्य ६.६९ प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया दिनुहोस