इम्बोष्ड नम्बर प्लेट नेपालीमा राख्ने कार्ययोजना अघि बढिसक्याे : मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

सोमबार, १३ चैत्र २०७९, १५ : २२
इम्बोष्ड नम्बर प्लेट नेपालीमा राख्ने कार्ययोजना अघि बढिसक्याे : मन्त्री श्रेष्ठ

काठमाडौँ । सरकारले इम्बोष्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढाएको बताइएको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सो जानकारी गराएका हुन् । सोमबार मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै उनँले प्रधानमन्त्री पुष्पकमल दाहालको समेत निर्देशनमा सो कामलाई सुरु गरिएको स्पष्ट पारे ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाली समाज र सरकारी निकायले धेरै पटक भनेपछि मन्त्रालयले सो कामलाई अघि बढाउने गरी कार्ययोजना बनाउनु परेको स्पष्टिकरण समेत दिए ।‘सवारी साधनहरुमा राखिने इम्बोष्ड नम्बर सरकारी तहमा पनि, नेपाली समाजमा पनि धेरै पटक नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुने गरेकै हो,’ उनले भने, ‘प्रारम्भमा त्यसबारेमा प्रक्रिया अघि बढेको पनि हो । अहिले अंग्रेजीमा छ । तर हाम्रो मन्त्रालयले अहिले प्रधानमन्त्री समेतको परामर्श र निर्देशनमा इम्बोष्ट नम्बर प्लेटलाई नेपालीमा पनि राख्ने कार्य योजना अगाडि बढाएको छ । त्यसका लागि सम्बन्धित एजेन्सीसँग पनि हामी छलफलको प्रक्रियामा छौं । त्यो प्रक्रिया अघि बढाउने कार्ययोजना बनाएर हामी त्यसलाई तीव्रता प्रदान गर्न गईरहेका छौं ।’

 

प्रतिक्रिया दिनुहोस