‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ : मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

शुक्रबार, ११ पुस २०८२, १२ : ५३
‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ : मन्त्री श्रेष्ठ

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छिन् । पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले ज्येष्ठ नागरिकका समस्या समाधान गर्न तीनै तहका सरकार, नागरिक समाज, परिवारलगायत सरोकार भएका सबैको हातेमालो र सहयोगको आवश्यकता औँल्याइन् । 

मन्त्री श्रेष्ठले भनिन्, “जीवनको ऊर्जाशील समयमा आफ्नो क्षेत्रमा विज्ञता, सीप, दक्षता र अनुभव हासिल गर्नुभएका ज्येष्ठ नागरिकका विषयमा रहेका समस्या समाधानमा सम्बद्ध सबैको चासो र चिन्ता हुन जरुरी छ । आपसी सहकार्य र समन्वयबाट समस्या समाधान गर्न सकिन्छ ।”

मन्त्री श्रेष्ठले काठमाडौँको पशुपति क्षेत्रमा सरकारले समाज कल्याण केन्द्रमार्फत आवासीय रूपमा असहाय ज्येष्ठ नागरिकलाई राखी वृद्धाश्रम सञ्चालन गरिरहेको जनाइन् । उनले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवको सम्मान गर्दै अन्तरपुस्ता सीप हस्तान्तरणसम्बन्धी कार्यक्रमहरू पनि सञ्चालन भइरहेका उल्लेख गरिन् । 

प्रतिक्रिया दिनुहोस