भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो शृङ्खला

एजेन्सी

विहीबार, ०९ चैत्र २०७९, ०८ : २५
भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो शृङ्खला

flle Pic

एजेन्सी । शृङ्खलामा भारतलाई २१ रनले पराजित गर्दै अस्ट्रेलियाले तीन खेलको एकदिवसीय शृङ्खला २–१ ले जितेको छ । भारत भ्रमणमा रहेको अस्ट्रेलियन टिमले वाङ्खडे स्टेडियममा पाँच विकेटले पराजित हुँदै शृङ्खलाको सुरुआत गरेको थियो।

तर, आइतबार भिसाकापट्नममा भारतविरुद्ध १० विकेटको शानदार जित निकाल्दै अष्ट्रेलियाले शृङ्खला १–१ ले बराबरी गरेको थियो । बिहीबार चेन्नईमा भएको निर्णायक एकदिवसीय अन्तर्राष्ट्रियमा भारतविरुद्धको जितसँगै अस्ट्रेलिया च्याम्पियन बन्यो । भारतविरुद्धको शृङ्खला जितेसँगै अष्ट्रेलिया एकदिवसीय वरियताको शीर्ष स्थानमा उक्लिएको छ ।

एमए चिन्दाबरम स्टेडियममा टस जितेर ब्याटिङ थालेको अस्ट्रेलियाले ४९ ओभरको समाप्तिमा सबै विकेट गुमाएर दुई सय ६९ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा दुई सय ७० रनको योगफल पछ्याएको भारतले ४९।१ ओभरमा अलआउट हुँदै २ सय ४८ मात्रै बनायो ।

भारतका लागि कप्तान रोहित शर्मा र सुबनम गिलले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए । यस्तै, वान् डाउनमा क्रिजमा उत्रिएका विराट कोहलीले ७२ बलमा दुई चौका र एक छक्कासहित ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

त्यसबाहेक हार्दिक पाण्डेयाले ४० बलमा ४०, कप्तान रोहितले ३० र सुबनमले ३७ तथा केएल राहुलले ३२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । अस्ट्रेलियाका लागि किफायती बलिङ गरेका आडम जाम्पाले सर्वाधिक चार विकेट लिए । उनले १० ओभरमा ४५ रन खर्चिएर चार विकेट लिँदा अस्टोन एगरले दुई तथा मार्कस स्टोइनिस र सिन एबोटले एक–एक विकेट लिए ।

पहिलो इनिङमा भारतीय बलिङसामू संघर्षरत अस्ट्रेलियाका लागि मिचेल मार्सले सर्वाधिक ४७ रनको इनिङ खेलेका थिए । ओपनिङमा उत्रिएका मार्सले ट्राभिस हेडसँग ६८ रनको साझेदारी गर्दै ४७ बलमा आठ चोका र एक छक्कासहित ४७ रन बनाए । त्यसबाहेक विकेटरकिपर–ब्याटर एलेक्स क्यारेले ३८, हेडले ३३ तथा मार्नुस लाबुस्चेनले २८ रनको योगदान गरे ।

भारतका लागि कुलदीप यादवले १० ओभरमा ५६ रन खर्चिएर एक मेडनसहित तीन विकेट लिए । यस्तै, आठ ओभरमा तीन विकेट लिन हार्दिकले ४४ रन खर्चिए । मोहम्मद सिराज र अक्षर पटेलले दुई–दुई विकेट लिए।