उद्योगी-व्यवसायीले राष्ट्रपतिलाई भने: अप्ठ्यारो परिस्थितिको अर्थतन्त्रलाई सुधार गरौं

सफल खबर संवाददाता

आइतबार, ०५ चैत्र २०७९, १२ : ३०
उद्योगी-व्यवसायीले राष्ट्रपतिलाई भने: अप्ठ्यारो परिस्थितिको अर्थतन्त्रलाई सुधार गरौं

काठमाडौं । नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाल उद्योग परिसंघले बधाई ज्ञापन गरेको छ । अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शीतल निवासमा बधाई ज्ञापन गरेको हो । सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले निजी क्षेत्रको तर्फबाट राष्ट्रपति पौडेललाई बधाई एवं शुभकामना दिदै मुलुकको चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रको विषयमा निजी क्षेत्रको तर्फबाट सुझाव दिए ।

अध्यक्ष अग्रवालले समष्टिगत अर्थतन्त्रको मागमा उच्च कमी आउँदा अर्थतन्त्र विषम परिस्थितिबाट गुज्रिरहेको भन्दै अर्थतन्त्र सुधारका लागि मागमा वृद्धि ल्याउनुपर्ने, ब्याजदर घट्नुपर्ने बताए । उनले परिसंघले अगाडि सारेको वर्तमान अर्थतन्त्रको अवस्था र सुधारका लागि चालिनुपर्ने उपायसहितको ‘रिबुटिङ नेप्लिज इकोनिमी’ अवधारणा राष्ट्रपतिसमक्ष पेश गरे ।

परिसंघको बधाई एवं अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्दै राष्ट्रपति पौडेलले परिसंघको सुझाव सरकारलाई दिने र ध्यानाकर्षण गराउने बताए ।

प्रतिक्रिया दिनुहोस