चीनले विश्वव्यापी जोखिम तेर्स्याइरहेको अमेरिकी गुप्तचर निकायहरूको आकलन

सफल खबर संवाददाता

विहीबार, २५ फागुन २०७९, १२ : ५८
चीनले विश्वव्यापी जोखिम तेर्स्याइरहेको अमेरिकी गुप्तचर निकायहरूको आकलन

काठमाडाैं । अमेरिकाका गुप्तचर निकायहरूले बुधवार संसारका जोखिमहरूका विषयमा वार्षिक प्रतिवेदन जारी गरेका छन् । प्रतिवेदनमा चीनलाई अमेरिकाका लागि विश्वव्यापी रूपमै ठूलो जोखिमका रूपमा चित्रित गरिएको छ । अमेरिकासँगको रणनीतिक प्रतिस्पर्धाका लागि चीनले आणविक हतियारहरूका विषयमा अडान बदलिरहेको प्रतिवेदनमा उल्लेख छ । 

चीनका नेताहरूलाई देशसँग रहेको क्षमता अपर्याप्त रहेको चिन्ता छ । त्यसैले ऊ हतियार निर्माणमा व्यापक जोड दिइरहेको छ । 

आणविक हतियार प्रतिरोध क्षमतामा बेइजिङको विश्वास बढिरहँदा अमेरिकासँगको संघर्षको आशंका बढेको छ । अहिले चीनले अन्तर्महादेशीउ क्षेप्यास्त्र राख्ने साइलोहरू सयौंको संख्यामा बनाइरहेको छ । 

चीनले विश्व स्तरीय सेना निर्माण गरिरहने प्रतिवेदनमा उल्लेख गरिएको छ । आफ्नो सम्प्रभुता रहेको क्षेत्रको सुरक्षा गर्दै क्षेत्रीय मामिलाहरूमा दबदबा बनाउने चीनको लक्ष्य हो । वैश्विक स्तरमा शक्तिप्रदर्शन गर्दै अमेरिकाको सैन्य श्रेष्ठतालाई पछि पार्ने उद्देश्य पनि चीनले लिएको छ । 

चिनियाँ सेनाले आफ्नो क्षमतामा द्रुत गतिमा वृद्धि गरिरहेको छ । उसले अमेरिकासँग विशाल स्तरमा तथा लामो समयसम्मको संघर्षका लागि आफूलाई तयार पारिरहेको छ । चीनले व्यापक नरसंहार गर्न सक्ने हतियार र उन्नत पारम्परिक हतियार दुवैमा आफ्नो घरेलु रक्षा उत्पादन क्षमतालाई बढाइरहेको अमेरिकी गुप्तचर निकायहरूको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सन् २०२७ सम्म चीनले आफ्नो सेनालाई ताइवानमाथि अमेरिकाले गर्न सक्ने हस्तक्षेप रोक्नका लागि क्षमतावान बनाउँदैछ । चिनियाँ जनमुक्ति सेनाको रकेट फोर्सको छोटो, मध्यम र इन्टरमिडिएट दूरीका पारम्परिक क्षेप्यास्त्रले पहिलेदेखि नै यस क्षेत्रमा अमेरिकी सेना र उसका अखडालाई जोखिममा पारिरहेको छ ।