१८ वर्ष मुनिकाले दैनिक १ घण्टामात्रै टिकटक चलाउन पाउने

सफल खबर संवाददाता

शुक्रबार, १९ फागुन २०७९, ११ : ०१
१८ वर्ष मुनिकाले दैनिक १ घण्टामात्रै टिकटक चलाउन पाउने

काठमाडौं। लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले यस्तो नयाँ नियम लागू गर्दैछ जस अनुसार अब १८ वर्षभन्दा कम उमेरका टिकटक प्रयोगकर्ताहरुले एक दिनमा अधिकतम १ घण्टा मात्रै आफ्नो टिकटक अकाउन्ट चलाउन पाउनेछन् ।दैनिक एक घण्टाभन्दा बढी समय टिकटक चलाउन चाहने किशोर किशोरीहरुले आफ्नो पासकोड पुनः हाल्नुपर्नेछ ।

यद्यपि एक घण्टाको सीमालाई लम्ब्याउन पासकोड हान्नुपर्ने सेटिंग्सलाई बन्द पनि गर्न सकिनेछ ।चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले प्रयोगकर्ताहरुलाई आफ्नो टिकटक प्रयोगको आनीबानीमा नियन्त्रण कायम गराउनका लागि सहयोग गर्न भन्दै यो नयाँ फिचरको घोषणा गरेको हो ।

कम्पनीका अनुसार १८ वर्षभन्दा कम उमेरका टिकटक प्रयोगकर्ताको अकाउन्टमा अब दैनिक १ घण्टाको समयसीमा डिफल्ट रुपमा तय हुनेछ । आगामी हप्ताहरुसम्म यस्ता सबै अकाउन्टहरुमा एक घण्टे समयसीमा सेट गरिसक्ने कम्पनीले जनाएको छ ।

अब टिकटक चलाउँदै एक घण्टा पूरा भएसँगै टिकटक एपले सम्बन्धित प्रयोगकर्तालाई समय सकिएको भन्दै अब लगअफ गर्नुहोस् भन्ने सन्देश दिनेछ । यद्यपि प्रयोगकर्ताले टिकटकको तय भएको उक्त समयसीमाको सेटिंग्स हटाउन वा परिवर्तन गर्न सक्नेछन् । त्यसरी समयसीमा हटाएपछि दैनिक १ सय मिनेट भन्दा धेरै समयसम्म टिकटक चलाइएमा टिकटकले नयाँ सीमा तय गर्न अह्राउनेछ । त्यसमा प्रयोगकर्ताले आफ्नो दैनिक टिकटक चलाउने अधिकतम समय राख्नुपर्नेछ ।

टिकटकले गत वर्ष किशोरावस्थाका प्रयोगकर्ताहरुलाई उनीहरुको टिकटक चलाउने समय अर्थात् स्क्रिन टाइम व्यवस्थापन गर्ने नयाँ फिचर ल्याएको थियो । टिकटकको नयाँ नियम अनुसार अब १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक १ घण्टाभन्दा धेरै थप ३० मिनेटसम्म टिकटक चलाउनका लागि उनीहरुका अभिभावकले पासकोड हालेर अनलक गर्नुपर्नेछ ।