सन्दीप लामिछाने क्रिकेट खेल्न विदेश जान नपाउने

सफल खबर संवाददाता

शुक्रबार, १२ फागुन २०७९, १८ : ४०
सन्दीप लामिछाने क्रिकेट खेल्न विदेश जान नपाउने

काठमाडौं । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिन अस्विकार गरेकाे छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले लामिछानेलाई  विदेश भ्रमणमा जाने अनुमति दिन अस्विकार गरेकाे हो। साथै, इजलासले महान्यायाधीवक्ता र लामिछानेको निवेदन एकसाथ आउँदो आईतबार पेशी तोक्न आदेश दिएको छ ।

नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो । 

उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।

सुनुवाइका क्रममा न्यायाधीश खतिवडाले निवेदक सन्दीपको क्रिकेट करियर उचाइमा पुगोस् भन्ने मेरो आफ्ना शुभकामना रहेको बताए । तर,  प्रक्रियालाई हामीले छाड्न नमिल्ने उनको भनाइ छ । लामिछानेमाथि नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगसम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौं विचाराधीन छ ।