काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले राज्यको संरचनामा नयाँनयाँ प्रविधिलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताएका छन । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको सूचना प्रविधि मेलाको अवलोकन गर्दै अध्यक्ष राउतले राज्यका संरचनामा सूचना, प्रविधिका नयाँ–नयाँ कुराहरुलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताए ।
उनले राजनीतिक तहमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भएमा देशमा प्रविधिको बिस्तार गर्न सहज हुने बताए । उनले राज्यले कुनैपनि प्रकारका प्रविधिहरुको प्रयोग गर्दा त्यसको सुरक्षाको सम्बन्धमा ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रविधिको प्रयोग गर्दा राज्यले डाटा सर्भर कहाँ राख्ने ? सुरक्षा नीति के हुने ? लगायतको विषयमा विशेष रुपमा ध्यान पुर्याउनुपर्ने बताए । उनले प्रविधिहरुको प्रयोग गर्दैगर्दा त्यसको सुरक्षाको प्रत्याभुति दिलाउन सक्नुपर्ने बताए ।
उनले सूचना र प्रविधिको आजको युगमा कितावमा समेत भन्सार शुल्क लाग्ने गरेको भन्दै दुर्भाग्यपूर्ण अवस्था भएको टिप्पणी गरे । विज्ञान, प्रविधिको प्रयोग तथा बिस्तारका लागि राजनीतिक स्तरमा पनि चेतना हुनुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ माघ २०७९, १५ : ४३
लेखकबाट थप