माओवादी नेतृत्व नै सर्वमान्य नेतृत्व : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, २८ माघ २०७९, १४ : ४९
माओवादी नेतृत्व नै सर्वमान्य नेतृत्व : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको भन्दै पार्टीको भविष्य उज्ज्वल भएको बताएका छन् । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, “निर्वाचनपछि हामीले सरकारको नेतृत्व गर्ने अवसर पाएका छौँ। यो हाम्रा लागि चुनौतीपूर्ण अवसर हो। यसको भरपुर सदुपयोग गरेर देश र जनताका निम्ति राम्रो परिणाम दिनै पर्दछ। एक्लो प्रधानमन्त्रीले मात्रै गरेर सबै चीज हुँदैन, केन्द्र, प्रदेश र स्थानीय तहका सरकार सबैले राम्रो गर्दा देशमा राम्रो परिणाम आउँछ। पार्टीका पनि सबै नेता–कार्यकर्ताले जनताको हितअनुसार काम गरेर देशलाई परिणाम दिनैपर्छ।”

“सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता हो। यो लक्ष्य हासिल गर्न सिङ्गो देशलाई एकताबद्ध बनाएर लैजानुपर्छ” प्रधानमन्त्रीले भने, “पार्टीको स्थायी समिति बैठकले सरकारलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट भूमिका खेल्ने निर्णय गरेको छ। पार्टीको २ महिने संगठनात्मक अभियान चलाउँदैछौँ। जनता र कार्यकर्ताका कुरा सुनेर आउन भनिएको छ। अर्कोतिर पार्टी एकता र समाजवादी मोर्चाको तयारी गरिरहेका छौँ। सम्भव हुने पार्टीहरूसँग तत्काल पार्टी एकता गर्छौँ, तत्काल एकता सम्भव नहुने पार्टीहरूसँग समाजवादी मोर्चा बनाएर एकताको आधार तयार पार्छौँ।”

उनले थपे, “अहिले पनि अप्ठ्याराहरू छन्, चुनौतीहरू छन्। ती सबैलाई हामी छिचोल्छौँ र अगाडि बढ्छौँ। अर्को निर्वाचनसम्म जाँदा हाम्रो पार्टी फेरि शक्तिशाली भएर आउँछ। देशको बैकल्पिक शक्ति हामी नै हौँ भन्ने तथ्य परिणामबाट पनि स्थापित हुन्छ। त्यसरी हेर्दा मैले माओवादी पार्टीको भविष्य उज्ज्वल नै देखिरहेको छु, हामी फेरि उचाइका साथ अघि बढ्छौँ।”

 

प्रतिक्रिया दिनुहोस