सेभेन थ्री स्पोर्ट्सले गर्‍यो नेपाल टी–२० लिगको सम्झौता रद्द

सफल खबर संवाददाता

मंगलबार, १७ माघ २०७९, १९ : ५८
सेभेन थ्री स्पोर्ट्सले गर्‍यो नेपाल टी–२० लिगको सम्झौता रद्द

काठमाडौं । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले नेपाल टी–२० लिगको सम्झौता एकतर्फी रुपमा रद्द गरेको छ । नेपाल टी–२० लिगको रणनीतिक तथा व्यावसायिक साझेदार भारतीय कम्पनीले सम्झौता रद्द गरेको पत्र नेपाल क्रिकेट संघ क्यानलाई पठाएको हो ।

प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदको सहमति प्राप्त नभएको कारण देखाउँदै कम्पनीले क्यानलाई आज इमेलमार्फत ‘सम्झौता रद्द’ सम्बन्धी सूचना पठाएको छ । सेभेन थ्रीका मालिक जतिन अहलुवालाले क्यानलाई पत्र पठाएको पुष्टी गरेका छन् । उनले राष्ट्रिय खेलकुद परिषदलाई पनि पत्र पठाएको जानकारी दिए । सेभेन थ्री स्पोर्ट्सले क्यानसँग प्रतियोगिताको लाइसेन्सबापत दिएको एक करोड २० लाख रुपैयाँ फिर्ता गर्न माग गरेको छ ।

पुस ९ देखि २७ गतेसम्म काठमाडौंमा आयोजना भएको नेपाल टी–२० लिग विवादै विवादमा सकिएको थियो । नेपाल प्रहरीले गरेको अनुसन्धानमा नेपाल टी–२० लिगमा सेभेन थ्री स्पोर्ट्सकै संलग्नतामा स्पट फिक्सिङ भएको पाइएको थियो । नेपाल टी–२० लिग र सेभेन थ्री स्पोर्टससँगको सम्झौता बारेमा पोखरामा बसिरहेको क्यानको बोर्ड बैठकमा समेत छलफल भइरहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सेभन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती भएको बयान दिएको पाँच दिनपछि सेभन थ्री स्पोर्ट्सले क्यानलाई सम्झौता भंग भएको पत्र पठाएको हो । नेपालको कानूनी प्रावधानअनुसार कुनै पनि खेल संघले विदेशी संस्थासँग सम्झौता गर्दा राष्ट्रिय खेलकुद परिषदको सहमति लिनुपर्छ । तर, क्यानलाई परिषदले सहमति नदिएको भनेर पहिल्यैदेखि सञ्चारमाध्यममा समाचारहरु प्रकाशित भएका थिए ।

पोखरामा मंगलबारदेखि सुरु क्यानको बोर्ड बैठकमा सात जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामाको लिखित रुपमै माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस