काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा आफू र आफ्ना साझेदारहरू जग्गाधनीबाट ठगिएको बताएका छन् । सोमबार सचिवालयमार्फत एक भनाइ सार्वजनिक गर्दै मन्त्री गुरुङले जग्गा भाडामा लिँदा वास्तविक तथ्य लुकाएर आफूहरूलाई झुक्याइएको दाबी गरेका हुन् ।
सर्वोच्च अदालतको आदेशअनुसार फेवातालको मापदण्डभित्रका संरचना हटाउने अभियान चलिरहेका बेला गृहमन्त्री आफैँले लिजमा लिएको जग्गा पनि अतिक्रमणभित्रै परेको खुलेपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् । गुरुङले जग्गाधनीले मापदण्डभित्र पर्ने तथ्य लुकाएर ‘लिज’ मा दिएको भन्दै अब कानुनी उपचार खोज्ने बताएका छन् ।
आजभन्दा करिब ८–१० वर्षअघि गुरुङसहित तीन युवा उद्यमी मिलेर फेवाताल किनारमा ‘एडभेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्ने योजना अघि बढाएका थिए । “देशमै केही गरौँ भन्ने हुटहुटीका साथ ठूलो लगानी र सपना बोकेर काम सुरु गरेका थियौँ,” मन्त्री गुरुङको सचिवालयले भनेको छ, “जग्गा भाडामा लिनुपूर्व जग्गाधनीले उक्त जग्गा ६५ मिटरको मापदण्डभित्र पर्दैन भनी विश्वास दिलाएका थिए, लालपुर्जामा पनि जग्गा सुरक्षित देखाइएको थियो ।”
पछि नगरपालिकाबाट बुझ्दा उक्त जग्गा मापदण्डभित्रै पर्ने थाहा पाएपछि आफूले नैतिकताका आधारमा निर्माण कार्य र लगानी रोकेको उनले उल्लेख गरेका छन् । “हामीलाई झुक्याएर जग्गा भाडामा दिइएको तथ्य थाहा पाउनेबित्तिकै मैले काम रोकिदिएको थिएँ,” उनले थपे, “एउटा युवा उद्यमीका रूपमा हाम्रो सपना र लगानीमाथि खेलबाड भयो, यो स्वीकार्य छैन ।”
मन्त्री गुरुङले आफूमाथि भएको अन्याय र ठगीविरुद्ध कडा कानुनी प्रक्रियामा जाने समेत स्पष्ट पारेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा उनको नाममा फेवातालमा जग्गा रहेको भन्दै आलोचना भएपछि उनले यस्तो प्रष्टीकरण दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ चैत्र २०८२, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीको निर्देशन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ : गृहमन्त्री गुरुङ
केएमसी पुगेर गृहमन्त्री गुरुङले लिए जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन
गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
यो चुनावले मानवता, मुलुक र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको छ: गृहमन्त्री अर्याल