'मोदीलाई मार्न तयार हुनुहोस्' भन्ने कांग्रेस नेता पक्राउ

एजेन्सी

मंगलबार, २७ मंसिर २०७९, १० : १९
'मोदीलाई मार्न तयार हुनुहोस्' भन्ने कांग्रेस नेता पक्राउ

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भनेर विवादास्पद टिप्पणी गरेको आरोपमा मध्य प्रदेश कांग्रेसका नेता राजा पटेरिया मंगलबार पक्राउ परेका छन् । सोमबार सार्वजनिक एक भिडियोमा उनले संविधानको रक्षाका लागि प्रधानमन्त्री मोदीलाई ‘मार्न’ एउटा मानिसहरूको समूहलाई दुरुत्साहन गरेका थिए । 

एउटा भाइरल भिडियोमा पटेरियाले पार्टी कार्यकर्ताहरूको भेलामा भनेका छन्, ‘मोदीले चुनाव अन्त्य गर्नेछन्, मोदीले धर्म, जात, भाषाको आधारमा विभाजन गर्नेछन्, दलित, आदिवासी र अल्पसंख्यकको जीवन खतरामा छ । संविधान बचाउनु छ मोदीलाई मार्न तयार हुनुहोस् । ’


उनको टिप्पणीपछि, मध्य प्रदेश सरकारले पूर्वराज्यमन्त्री पटेरियाविरुद्ध मुद्दा चलाउन प्रहरीलाई आदेश दिएको थियो । पटेरियाविरुद्ध सोमबार दिउँसो पन्नाको पवई थानामा मुद्दा दर्ता गरिएको थियो । 


मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले टिप्पणीको निन्दा गरे । उनले कांग्रेस नेता राहुल गान्धीको पनि विरोध गरे । ‘भारत जोडो यात्राको नाटक गर्नेहरूको वास्तविक अनुहार बाहिर आउँदैछ ।’