एकदिवसीय क्रिकेट शृङ्खला : यूएईसँग खेल्दै नेपाल

सफल खबर संवाददाता

सोमबार, २८ कार्तिक २०७९, ०८ : ४९
एकदिवसीय क्रिकेट शृङ्खला : यूएईसँग खेल्दै नेपाल

काठमाडौं । घरेलु नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईसँग तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेल आज खेल्दैछ । युएईले नेपालसँग पहिलो पटक नेपालमा एकदिवसीय सिरिज खेल्न लागेको हो ।

त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र यूएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै नेपाल सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ । नेपालका लागि नयाँ कप्तान रोहित कुमार पौड्यलको पनि परीक्षणको रूपमा आजको खेल रहने छ । रोहितले पहिले पटक राष्ट्रिय टोलीका लागि आधिकारिक रूपमा कप्तानको जिम्मेवारी पाएका छन् ।

नेपाल र यूएईबीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म नेपालमाथि यूएई हाबी देखिएको छ । यूएईले नेपालसँग ६ पटक प्रतिस्पर्धा गरेको छ । जसमा यूएईले ४ खेलमा जित निकाल्दा नेपालले भने दुई खेलमा मात्र जित निकालेको छ ।

नेपाल र यूएईबीचको पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल २०१८ को एसीया कप क्वालिफायरमा भएको थियो । यो खेलमा नेपाल ७८ रनले पराजित भएको थियो । नेपाल र युएईबीच २५ जनवरी २०१९ देखि २८ जनवरी २०१९ सम्म तीन खेलको एकदिवसीय सिरिज भएको थियो । युएईमा भएको सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले यूएईलाई १४५ रनले हराउँदा सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपालले ४ विकेटको जित निकाल्न सफल भएको थियो ।

नेपाल र यूएईबीचको पाचौँ एकदिवसीय विश्वकप लिग टू त्रिदेशीय सिरिजका क्रममा भएको थियो । यस सिरिजको पहिलो खेलमा नेपालले ४८ रनको हार बेहोरेको थियो । सोही सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपाल र युएईबीचको छैटौँ भेट थियो जसमा नेपाल ९९ रनले पराजित भएको थियो ।