उम्मेदवार भोट माग्दै खेतबारीमा

सफल खबर संवाददाता

शुक्रबार, ०४ कार्तिक २०७९, ०८ : १४
उम्मेदवार भोट माग्दै खेतबारीमा

म्याग्दी । म्याग्दी जिल्लाको पहाडी क्षेत्रमा कोदो पाक्न थालेपछि कृषकलाई बाली भित्र्याउने चटारो छ । बिहानेदखि बेलुकीसम्म नै कोदो टिप्न कृषक बारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदैलोमा पुगेका उम्मेदवार खेतबारीसम्मै पुग्न थालेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका नेता यतिबेला घरदैलो अभियानमा व्यस्त छन् ।

निर्वाचन आयोगले उम्मेदवारको प्रचार–प्रसार अभियानका लागि सभा, समारोह, आमसभा गर्नका लागि मतदान हुने दिनअघिको १७ दिनमात्रै गर्न पाउने नियम बनाएपछि यतिबेला उम्मेदवार घरदैलो अभियानमा छन् । 

म्याग्दीमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका नेपाली कांग्रेसका खमबहादुर गर्वुजा र प्रदेशसभा क मा उम्मेदवार बनेएका नेकपा (माओवादी केन्द्र) का हरि भण्डारी र ख मा उम्मेदवार बनेका रेशम जुग्जालीसहित निर्वाचन प्रचार–प्रसारको टोली घरदैलो अभियानमा केन्द्रित भएका छन् ।

प्रदेशसभा क अन्तर्गतको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाका विभिन्न बस्तीमा कांग्रेसका गर्वुजा र प्रदेशसभा सदस्य पदका उम्मेदवार भण्डारीको टोलीले घरदैलो गरिरहेका छन् । जिल्लास्तर, दुवै प्रदेशसभा क्षेत्र र छवटै स्थानीय तहमा गठबन्धनको तर्फबाट संयुक्त निर्वाचन परिचालन समिति गठन गरिएको र वडा तहसम्म नै चुनाव प्रचार–प्रसार समिति गठन र उम्मेदवारसहितको टोलीले घरदैलो अभियान गर्न सुरु गरेको मूल निर्वाचन परिचालन समितिका संयोजक कर्णबहादुर भण्डारी ९केवी०ले  जानकारी दिए ।

गठबन्धनको तर्फबाट प्रदेशसभा ९ख०का उम्मेदवार जुग्जालीसहितको टोली घरदैलो अभियान लिएर धवलागिरि गाउँपालिका–१ गुर्जा पुगेका छन् । मालिका गाउँपालिकाभित्रका सबै वडामा चुनाव प्रचार–प्रसार समिति गठन गरी अभियानको सुरुआत गरेको टोलीले धवलागिरिको सबैभन्दा विकट बस्ती मानिने गुर्जाबाट अभियानको थालनी गरेको हो । टोलीमा प्रदेशसभा ख का संयुक्त निर्वाचन प्रचार–प्रसार समितिका संयोजक टङ्कप्रसाद पुन, प्रदेशसभा सदस्य पदका उम्मेदवार जुग्जाली, मालिकाका निवर्तमान अध्यक्ष एवं कांग्रेसका युवानेता श्रीप्रसाद रोकालगायत सहभागी छन् ।

जिल्लामा गठबन्धनको मुख्य प्रतिस्पर्धी दल नेकपा (एमाले) ले समेत घरदैलो अभियान चलाएको छ । एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठसहित प्रदेशसभा क का उम्मेदवार देवेन्द्रबहादुर कटुवाल क्षेत्रीको टोलीले रघुगङ्गाको विभिन्न वडा, टोल र बस्तीमा पुुगेर मतदातासमक्ष भेटघाट सुरु गरेको छ ।