काठमाडौं । प्रतिनिधिसभा चुनाव प्रचार प्रसारका लागि विभिन्न राजनीतिक दलका उम्मेदवाहरुले सामाजिक सञ्जालमा मात्रै देखिने गरी १ करोड ५६ लाख भन्दा बढी रकम खर्च गरेका छन् ।
पछिल्लो ३ महिनामा २ सय ३ फेसबुक पेजबाट २५ हजार ९ सय ८४ वटा चुनाव प्रचारसम्बन्धी सामग्री बुस्ट गरिएको देखिएको छ । यी प्रचार सामग्रीका लागि दल तथा उम्मेदवारहरूले १ लाख ५ हजार ८ सय ४० अमेरिकी डलर खर्च गरेका छन् । यो भनेको नेपाली मूल्य अनुसारको १ करोड ५६ लाख ५१ हजार २ सय ६९ रूपैयाँ हो ।
तर यसरी खर्च गरेको हिसाव किताब पारदर्शी छैन । दल तथा उम्मेदवारहरुले अहिले निर्वाचन आयोगमा धमाधम बुझाईरहेको निर्वाचन खर्च सम्बन्धी विवरणमा यसरी सामाजिक सञ्जालमार्फत गरिएको खर्चको हिसाव देखाईएको छैन । निर्वाचन आयोगले सामाजिक सञ्जालबाट हुने प्रचार खर्चलाई चुनावी खर्च शीर्षकमै राख्न ताकेता गरे पनि उम्मेदवारहरूले नसुनेझैँ गरिरहेका छन् । आयोग पनि नदेखेझैँ गरिरहेको छ ।
कसले कति गरे खर्च ?
राष्टिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहको प्रचारका लागि प्राइममिनिस्टर बालेन नामको फेसबुक पेजबाट ५ वटा कन्टेन्ट बुस्ट गरिएको छ । जसका लागि १ सय ५८ अमेरिकी डलर खर्च गरिएको छ । बालेन्द्रलाई जिताउनका लागि अन्य पेजबाट पनि डलर खर्चेर प्रचार गरिएको छ ।
रास्वपाकै उपाध्यक्ष स्वर्णिम वाग्लेको समर्थक फेसबुक पेजबाट १० वटा कन्टेन्ट प्रचार गरिएको छ । जसबापत १ सय १० डलर खर्च भएको देखिएको छ । रास्वपाकै उपसभापति डीपी अर्यालले फेसबुक बुस्टिङमा ३ सय ३२ डलर खर्च गरेको देखिन्छ । पछिल्लो तीन महिनाको अवधिमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा बढी पैसा खर्चने फेसबुक पेज माइ भ्वाइस काउन्ट्स हो । यसले ४ हजार ४ सय २३ डलर खर्च गरेको छ ।
यस्तै दोस्रोमा डा. अजयक्रान्ति फलोअर्स नामको पेजले ४ हजार ४३ डलर खर्च गरेको छ । काठमाडौं ९ का एमाले उम्मेदवार अजयक्रान्ति शाक्यले यो पेजबाट आफनो प्रचारप्रसारका लागि बुष्ट गरेका हुन् । उनले नेपाली रुपैया ५ लाख ९७ हजार ६१ खर्च गरेर सामाजिक सञ्जालमा बुष्ट गरेको भेटिएको हो ।
यस्तै साझा पार्टी नामको पेजले ३ हजार १ सय डलर खर्च गरेको छ । विजयी उम्मेदवारहरूमा सबैभन्दा धेरै खर्च गर्नेमा एमालेका छितिज थेवे छन् । थेवेले दुईवटा पेजमार्फत ४ हजार ६ सय ८४ डलर खर्च गरेको देखिएको छ । उनले ६ लाख ९१ हजार ७ सय २२ रूपैयाँ नेपाली रुपैया सामाजिक सञ्जालमा बुष्ट गर्न खर्चेको देखिएको छ ।
यसपालि निर्वाचनमा २ हजार डलरभन्दा बढी खर्च गर्ने १० वटा पेज छन् । यस्तै १२ पेजले १ हजार डलरभन्दा बढी खर्च गरेको पाइएको छ । पाँच सय डलरभन्दा बढी खर्च गर्नेमा ३१ पेज हुँदा चार सयभन्दा बढी खर्च गर्नेमा १३, तीन सयभन्दा बढी खर्च गर्ने २१, दुई सयभन्दा बढी ३८ र एक सयभन्दा बढी खर्च गर्नेमा ७७ वटा फेसबुक पेज छन् ।
अर्यालले मात्र देखाए निर्वाचन खर्चमा हिसाव
सामाजिक सञ्जाल बुष्ट गर्दा गरेको खर्च विवरण उम्मेदवारहरुले लुकाए पनि रास्वपाका उपाध्यक्ष डिपि अर्याल मात्रले त्यसरी गरिएको खर्च विवरण पनि निर्वाचन आयोगलाई बुझाएको विवरणमा उल्लेख गरिएको छ । अर्यालले छापा, विद्युतीय माध्यम विज्ञापनमा ७५ हजार खर्च भएको देखाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ चैत्र २०८२, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीले बढायो सामाजिक सञ्जालमा उच्च निगरानी
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
सरकारले खुलायो सामाजिक सञ्जाल
यी हुन् नेपालमा दर्ता भएका र नभएका सामाजिक सञ्जाल (सूचीसहित)
फेसबुक, ट्वीटर, युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय