म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा ‘विकास पूर्वाधार’

सफल खबर संवाददाता

शनिबार, २९ असोज २०७९, १२ : १४
म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा ‘विकास पूर्वाधार’

म्याग्दी । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरूले म्याग्दीलाई विकास र समृद्धि दिलाउने ‘एजेण्डा’ अघि सारेका छन् । 

हिमाली जिल्ला म्याग्दीमा राजनीतिक पहुँच नहुँदा विकासमा पछि परेको आम नागरिकको गुनासो छ । जिल्लाबाट अहिलेसम्म निर्वाचित सांसदले नियमित बजेटबाहेक पहुँच बढाएर विकास योजना र बजेट भित्र्याउन नसकेको आमगुनासो भइरहँदा आगामी निर्वाचनमा उम्मेदवार बनेका नेताले विकास र समृद्धिलाई नै प्रमुख एजेण्डा बनाएका छन् ।

सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेका नेपाली कांग्रेसका खमबहादुर गर्वुजा नेकपा एमालेले पटक–पटक म्याग्दीको नेतृत्व गर्दा समेत जिल्लाको विकासमा कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यसपटक गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउँछन् । ‘म्याग्दीमा दीगो विकास चाहिएको छ, त्यसको खाका हामीले कोरेका छौं, जनताको विकासप्रतिको चाहनालाई पूरा गर्ने एजेण्डा लिएर आएका छौं,’ उनले भने ।

जिल्लाभरका सडकको अवस्था जीर्ण रहेको, शिक्षा र स्वास्थ्यको अवस्था समेत सुधार गर्नुपर्ने भएकाले आफूले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत सुधारका लागि आवश्यक पहल गर्ने उनको भनाइ छ । सत्ता गठबन्धनको मुख्य प्रतिस्पर्धी एमालेबाट उम्मेदवार बनेका हरिकृष्ण श्रेष्ठले शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण र कृषिलाई आत्मनिर्भर र व्यावसायिकीकरण गर्ने एजेण्डा लिएर उम्मेदवार बनेको बताए ।

सदरमुकामदेखि पालिका जोड्ने सडक कालोपत्र गर्ने, जिल्लामा सुस्तगतिमा रहेका गौरवका योजनालाई पूर्णता दिने र जिल्लाभित्र रहेको पर्यटन सम्भावनालाई उजागर गर्नतर्फ आफूले प्राथमिकता दिने श्रेष्ठले बताए । प्रदेशसभा सदस्यका मुख्य प्रतिस्पर्धीले समेत नीति निर्माणदेखि विकास निर्माणलाई आफ्नो चुनावी एजेण्डा बनाएका छन् । प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका हरि भण्डारी र (२) का रेशम जुग्जाली ‘सुविन’ले समेत विकास निर्माण योजना भित्र्याउन गण्डकी प्रदेश सरकारसँग बलियो पुलको भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।