काठमाडौं । केही दिनदेखिको लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण खोटाङका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन् । कच्ची अवस्थामा सञ्चालन हुँदै आएका ग्रामीण सडक अवरुद्ध भएपछि दिक्तेल बजार तथा तराईका जिल्ला एवं राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु घण्टौँ पैदलयात्रा गरेर गन्तव्यमा पुग्न बाध्य छन् ।
हिउँदमा जिल्लाका दशवटै स्थानीय तहमा यातायात सञ्चालन भए पनि अहिले दिक्तेल–काठमाडौँ, दिक्तेल–इटहरी–विराटनगर र दिक्तेल–भोजपुर सडक मात्र सञ्चालनमा रहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए । ‘कच्ची सडक भारी वर्षाका कारण अवरुद्ध छन्’, उनले भने , ‘बाह्रैमास सञ्चालनमा ल्याउन कोलोपत्र गर्न जरुरी छ ।’
गत वर्षको तुलनामा यस वर्ष छिटो वर्षात् सुरु भएको र लगातारको वर्षात्का कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएको महासचिव हिङ्माङले बताए । गत चैतदेखि अवरुद्ध जिल्लाका सबै ग्रामीण सडक यसअघि मर्मत गरेर सञ्चालनमा ल्याइएका थिए ।
अवरुद्ध ग्रामीण सडक दशैँअघि सञ्चालन हुने अवस्था छैन । सगरमाथा राजमार्गअन्तर्गत तराईका जिल्ला जोड्ने दिक्तेल-गाईघाट सडकखण्डसमेत अवरुद्ध छ । यसबाट आवतजावत र दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या भएको छ । कालोपत्र गरिएको दिक्तेल-गाईघाट सडकसमेत लगातारको वर्षाका कारण अवरुद्ध हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ भदौ २०७९, १३ : २८
लेखकबाट थप