छोरी जीवन बीमा कार्यक्रमका लागि भरतपुर महानगर र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, १६ : ४९
छोरी जीवन बीमा कार्यक्रमका लागि भरतपुर महानगर र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता

चितवन । भरतपुरमा जन्मिने छोरीका लागि निःशूल्क छोरी जीवन बीमा कार्यक्रम अन्तर्गत भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच बिहीबार सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच सौम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।सम्झौतामा भरतपुर महानगरपालिकाको तर्फबाट प्रमुख महिला विकास अधिकृत शान्ताकुमारी पौडेल र राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गरे ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल दोस्रो पटक महानगर प्रमुखमा निर्वाचित भई पदभार ग्रहण गर्दा भरतपुर महागनरपालिकामा जन्मिने छोरीका लागि निःशूल्क जीवन बीमा गर्ने निर्णय गरेकी थिइन् । गत जेठ ११ गतेका दिन लागु हुने गरी १५ वर्ष अवधिका लागि बीमा कार्यक्रम सुरु गर्ने निर्णयलाई कर्यान्वन गर्न सम्झौता गरिएको हो । सरकारी स्वास्थ्य संस्थामा जन्मेका छोरीहरुले मात्र यो सेवा लिन पाउने छन्  । गत जेठ ११ गतेका दिनदेखि जन्मिएका छोरीको मात्र यो कार्यक्रममा सहभागि हुन पाउने छन् ।

छोरी जीवन बीमा गर्न महानगरपालिको स्थायी बासिन्दा हुनुपर्ने छ । बीमाका लागि जन्मदर्ताको प्रमाण पत्र र फोटोसहित वडा कार्यालयमा जानुपर्ने छ । यो बीमा योजनाको बीमाङ्क रकम रु ५० हजार र बीमा अवधि १५ वर्षको हुनेछन् । बीमा कार्यक्रममा सहभागि भएका छोरीहरुले १५ वर्षमा प्रचलित बोनस दरका आधारमा एकमुष्ट रकम प्राप्त गर्नेछन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छोरीलाई प्रोत्सहान र संरक्षित गर्ने उदेश्यसहित छोरी जीवन बीमा कार्यक्रम लागू गरिएको बताइन् । यो कार्यक्रमले छोरा र छोरीबीच हुने सामाजिक विभेद न्युनिकरणमा सहयोग पुग्ने प्रमुख दाहालको विश्वास छ । पदभार ग्रहणका क्रममा नगर प्रमुखले गर्नु भएको अर्को निर्णय ७ हजारसम्म निःशूल्क पिउने पानी उपलब्ध गराउने निर्णय भने कार्यन्वयन भइसकेको छ । पहिलो कार्यकालको पदभार ग्रहणमा प्रमुख दाहालले भरतपुर अस्पतालमा महिलालाई निःशूल्क ओपिडी टिकटको व्यवस्था गर्ने निर्णय गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस