२ हजार टन जडीबुटी नेपालगञ्जमै थन्कियो

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १० : ३२
२ हजार टन जडीबुटी नेपालगञ्जमै थन्कियो

काठमाडौं । भारतीय प्लान्ट क्वारेन्टाइनको सूची नेपाली जडीबुटी नसमेटिँदा जडीबुटी बाँकेको नेपालगञ्जमै थन्किएको छ । भारत निर्यात हुन नसकेपछि करीब २ हजार टन जडीबुटी नेपालगञ्जस्थित जडीबुटी व्यवसायी संघमै थन्किएको छ । बाँकेमा जडीबुटी सम्बन्धी १२ उद्योग छन् । 

कारोबार नहुँदा जडीबुटी कुहिने अवस्थामा पुगेको व्यवसायी रवीन्द्रनाथ शुक्लाले बताए । उनले आफ्नो १ करोड रुपैयाँ मूल्य बराबरको उत्पादन थन्किएको बताए । नेपाल जडीबुटी संघ बाँकेले गत वर्ष ५ हजार टन जडीबुटी निर्यात गरेको थियो । यस वर्ष हालसम्म २ हजार टन मात्र जडीबुटी निर्यात भएको छ । नेपालका विभिन्न जिल्लामा संकलन गरिएको ३० प्रकारको जडीबुटी बाँके ल्याउने गरिएको छ ।

सरकारले जडीबुटी निर्यातमा सहजीकरण नगरेको संघका अध्यक्ष टंकप्रसाद शर्माको आरोप छ । सरकारले जडीबुटी खेतीतर्फ ध्यान दिने हो भने लक्षित वर्गका किसानले रोजगारी पनि पाउने र जडीबुटी पनि आफ्नै देशमा उत्पादन गर्न सकिने उनको भनाइ छ ।

भारतीय भन्सारमा निर्यातमा समस्या, भारतको क्वारेन्टाइनमा नेपालका जडीबुटी सूचीकृत नहुनु लगायत कारणले निर्यातमा कमी आएको शर्माले बताए । भारतको प्लान क्वारेन्टाइनसँग समन्वय गरेर नेपालका जडीबुटी भारतको क्वारेन्टाइनमा सूचीकृत गराउन सके निर्यातमा समस्या नहुने उनको भनाइ छ । जडीबुटी व्यवसायी सकिल अहमद जसगढले सरकारले निर्यातमा समवन्य नगर्दा निर्यातमा समस्या झेल्नुपरेको बताए ।

‘धेरै समय मौज्दात राख्दा जडीबुटीको गुणस्तरमा ह्रास आउँछ, मूल्यमा घटबढ हुन्छ,’ उनले भने । बाँकेमा ११२ हेक्टर जमिनमा जडीबुटी खेती गरिएको छ । यसै वर्षदेखि यहाँ कुरिलो खेतीको शुरूआत गरिएको छ । 

नेपाल जडीबुटी व्यवसायी संघका पूर्व अध्यक्ष मोहम्मद याकुव अन्सारीका अनुसार सरकारी नीति फितलो हुँदा जडीबुटी खेती फस्टाउन सकेको छैन । केन्द्रले जडीबुटी खेतीको संरक्षण र प्रवद्र्धन, जडीबुटीको विकास, वनस्पति संरक्षण एवं उद्यम विकास, वनस्पति अध्ययन–अनुसन्धान तथा बजारीकरण सम्बन्धी कार्ययोजनाअनुसार आफ्नो भूमिकालाई अघि नबढाएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस