खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही

पत्रपत्रिकाबाट

बुधबार, ०१ भदौ २०७९, ०७ : ४२
खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी भएर तोकिएको समयमा निर्वाचन खर्च विवरण नबुझाउने १ लाख २३ हजार ७८३ जना उम्मेदवारहरूलाई कारबाही प्रक्रिया सुरु गरेको छ।

मंगलबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने १ लाख २३ हजार ७८३ जनालाई कारबाहीको प्रक्रिया सुरु गरेको जानकारी गराएका हुन्।  उनका अनुसार स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने र तोकिएको समयभन्दा ढिला गरी बुझाउने उम्मेदवारहरूलाई कारबाही प्रक्रिया सुरु गरिएको हो।

‘स्थानीय तह निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिएबमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्थाबमोजिम निर्वाचनमा भाग लिई तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १५ हजार १३१ जना र तोकिएको समयावधिभन्दा ढिलो गरी निर्वाचन खर्चको विवरण बुझाउने आठ हजार ६५२ जनासमेत गरी एक लाख २३ हजार ७८३ जना उम्मेदवारहरूलाई तोकिएको समयावधिभित्र कुन कारणले निर्वाचन खर्चको विवरण नबुझाएको हो  ? तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएकोमा तपाईंहरूलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम किन कारबाही हुनु नपर्ने हो ? भनी आफ्नो सफाइसहितको स्पष्टीकरण सात दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न आयोगले आदेश दिएको छ,’ विज्ञप्तिमार्फत आयोगका प्रवक्ता पौडेलले भने ।  नागरिक दैनिकमा खबर छ ।