काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएदेखि निरन्तर घट्दो क्रममा रहेको निक्षेप संकलनमा सुधार आउन सकेको छैन । साउन महिना लागेपछि वाणिज्य बैंकको निक्षेप संकलनमा झनै कम हुँदै आएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार पछिल्लो दुई सातामा वाणिज्य बैंकहरूको निक्षेप ३२ अर्ब रुपैयाँले घटेको छ ।
साउन ६ देखि २० गतेसम्म बैंकको निक्षेप ३२ अर्ब रुपैयाँले घटेको छ । एसोसिएसनका अनुसार साउन ६ गतेसम्म ४४ खर्ब ७८ करोड रुपैयाँ रहेको बैंकको निक्षेप साउन २० गते आइपुग्दा ४४ खर्ब ४६ अर्ब रुपैयाँमा सीमित भएको छ ।
साउन १३ गतेसम्म यस्तो निक्षेप ४४ खर्ब ५० अर्ब रुपैयाँ थियो । नबिल र एनबी बैंक मर्जरपछि २६ वटामा झरेका वाणिज्य बैंकले साउन ६ गतेदेखि २० गतेसम्म एक अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
असार महिनामा कर्जासमेत घटेको बैंकमा पछिल्लो दुई सातामा एक अर्बले कर्जा बढेको हो । असार मसान्तदेखि साउन २० गतेसम्मको अवधिमा भने १४ अर्ब रुपैयाँले कर्जा घटेको छ । यद्यपि निक्षेप आकर्षित गर्न पछिल्लो समय बैंकहरूले मुद्दती बचत नयाँ योजना सार्वजनिक गरिरहेका छन् ।
आकर्षक योजना ल्याएर निक्षेपकर्तालाई आकर्षित बनाउन अधिकांश वाणिज्य बैंक तथा विकास बैंकले मुद्दती योजना धमाधम घोषणा गरिरहेका ल्याएका हुन् । बैंकिङ प्रणालीमा तरलताको अभाव भइरहेका बेला वाणिज्य र विकास बैंकले आकर्षक बचत खाता योजना सार्वजनिक गरिरहँदा बैंकहरूको निक्षेप संकलन सुधारिने अपेक्षा गरिएको छ ।
सर्वसाधारणबाट निक्षेप तान्नकै लागि उच्च ब्याज तथा आकर्षक योजनासहित बचत खाता योजना सार्वजनिक गरिरहेका बैंकहरूले १० गुणासम्म निक्षेप बढ्ने योजना ल्याएका छन् । मुद्दती योजना ल्याउने दौडमा सरकारी स्वामित्वका वाणिज्य बैंकदेखि निजी क्षेत्रका र विकास बैंकले योजना सार्वजनिक गरिरहेका छन् ।
वाणिज्य बैंकहरूले भदौ महिनामा पनि ब्याजदर नबढाउने निर्णय गरेका छन् । एसोसिएसनले हालकै ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । बैंकहरूले विगत पाँच महिनादेखि व्यक्तिगततर्फ यही अधिकतम ११ दशमलव ३ प्रतिशत ब्याजदरलाई निरन्तरता दिइरहेका छन् ।
ब्याजदर बढाएर मात्र निक्षेप नबढ्ने स्पष्ट भएको भन्दै बैंकहरू थप ब्याज वृद्धि नगर्ने जनाएका छन् । एसोसिएसनको यो निर्णयसँगै अब संस्थागत निक्षेपको ब्याजदर थप सस्तो हुने भएको छ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत निक्षेपको भन्दा २ प्रतिशतले संस्थागतको ब्याजदर सस्तो हुनुपर्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ साउन २०७९, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसबिआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा छुट
केन्द्रीय बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्ने, आजै बोलकबोल
केन्द्रीय बैंक मुद्दति निक्षेपमा १४ करोड रुपैयाँ लगानी गर्दै
बैंकले विदेशी विनिमय कारोबारको इजाजतपत्र नवीकरण गर्नु नपर्ने
एनएमबि बैंकद्वरा २० मिलियन अमेरिकी डलर ऋण प्राप्त
आजदेखि दसैँका लागि नयाँ नोट सटही