विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

सफल खबर संवाददाता

बुधबार, १८ साउन २०७९, १४ : ०६
विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

काठमाडौं । मुस्ताङ, स्याङ्जा, तनहुँ, ओखलढुंगा र कपिलवस्तुमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । मुस्ताङको घरपझोङ गाउँपालिका–५ धुम्बास्थित स्याउ बारीमा धादिङ खनियाबास गाउँपालिका–४ दार्खा घर भएका ४९ वर्षीय चन्द्र बहादुर तामाङ मंगलबार मृत अवस्थामा फेला परेका हुन् । 

स्याउ बारीमा पानी लगाउन भनी गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।स्याङ्जाको पुतलिबजार नगरपालिका–१३ राङखोलास्थित आँधिखोलामा फेदिखोला गाउँपालिका–२ चनौटे बस्ने ५२ वर्षीय श्याम बहादुर गोदार मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

तनहुँको म्याग्दे गाउँपालिका–७ वर भञ्ज्याङ बस्ने ७१ वर्षीया सेती कुमारी सेन आफ्नै घरभित्र मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । ओखलढुङ्गाको चम्पादेबी गाउँपालिका–२ नवलपुरस्थित सुनकोशी नदीको किनारमा हाल पहिचान नखुलेका पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

कपिलवस्तुको वाणगङ्गा नगरपालिका–६ भकलापुर घाटस्थित वाणगंगा नदीको किनारमा हाल पहिचान नखुलेकी महिला मृत अवस्थामा फेला परेकी छिन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस