काठमाडौँ । संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । आज संसदीय सुनुवाइ समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।
संसदीय सुनुवाइ समितिको बैठक बिहान साढे ९ बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्नेछ । बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा सुनुवाइ प्रक्रिया अगाडि बढाउने कार्यसूची रहेको छ ।
संवैधानिक परिषद्को गत शुक्रबार बसेको बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मोरङका मानबहादुर कार्की तथा दुई आयुक्तमा काठमाडौँका डा. राजीव सुब्बा र ओखलढुंगाका गुरु वाग्लेलाई नियुक्तिका लागि सिफारिस गरेको थियो।
तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अवकाश पाएपछि निर्वाचन आयोग प्रमुख आयुक्तविहीन छ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको नेतृत्वमा भएको थियो । कार्यवाहक प्रमुखको जिम्मेवारी रामप्रसाद भण्डारीले पाउनुभएको थियो ।
यसैगरी, कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत अनुसन्धान केन्द्र एवं कार्यक्रमहरुको संसदीय अनुगमन टोलीद्वारा गरिएका स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको समीक्षा गर्ने कार्यसूची रहेको छ ।
यस्तै, कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितको प्रतिवेदन–२०८३ पेस र छलफल गर्ने कार्यक्रम छ । यस्तै, विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरुको मानवअधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको समयावधि थप गर्ने विषयमा छलफल हुनेछ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको कार्यविधिका सम्बन्धमा छलफल गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असार २०८३, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडा निर्विरोध
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडाले दिए उम्मेदवारी
संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै