काठमाडौं । चीनका लागि नेपालका सात पूर्वराजदूत एकैपटक सार्वजनिक रूपमा बोल्नु आफैंमा असामान्य घटना हो। अझ उनीहरूले संयुक्त वक्तव्य जारी गर्दै नेपाल सरकारले ‘एक चीन’ नीतिप्रतिको प्रतिबद्धतालाई दृढतापूर्वक कार्यान्वयन गर्न आग्रह गर्नुले सरकारका पछिल्ला घटनाक्रमलाई लिएर उनीहरू कति चिन्तित छन् भन्ने देखाउँछ।
बिहिबार बिहानै चीनका लागि नेपालका पूर्वराजदूतहरु राजेश्वर आचार्य, महेश मास्के, महेन्द्र पाण्डे, लीलामणि पौडेल, टंक कार्की, विष्णु पुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले संयुक्त बक्तब्य दिए । उनीहरुले जारी गरेको संयुक्त वक्तव्यमा सरकारले दशकौँदेखि अवलम्बन गर्दै आएको ‘एक चीन’ नीतिमा कुनै परिवर्तन आएको हो कि भन्ने प्रश्न उठाएका छन्।
उनीहरूले नेपालले आफ्नो भूमिबाट कुनै पनि मित्र राष्ट्रविरुद्ध गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्याउँदै आएको स्मरण गराउँदै पछिल्ला घटनाले फरक सन्देश दिएको हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्। पूर्वराजदूतहरूको यो प्रतिक्रिया अचानक आएको होइन। यसको पृष्ठभूमिमा पछिल्ला केही महिनायता भएका घटनाक्रम जोडिएका छन्। सबैभन्दा पछिल्लो घटना स्वयम्भूस्थित नाम्ग्याल विद्यालयमा १४औँ दलाई लामाको ९१औँ जन्मदिन मनाइएको कार्यक्रम हो। कार्यक्रममा नेपालमा रहेका तिब्बती समुदाय, बौद्ध धर्मावलम्बी तथा विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी भए। धार्मिक प्रार्थना, सांस्कृतिक कार्यक्रम र केक काटेर दलाई लामाको जन्मदिन मनाइयो।
तर यो कार्यक्रम हुनुअघि काठमाडौं जिल्ला सुरक्षा समितिले ‘फ्री तिब्बत’सँग सम्बन्धित सार्वजनिक र्याली, प्रदर्शन, सभा र पोस्टर अभियानमा प्रतिबन्ध लगाएको थियो। प्रशासनले सार्वजनिक प्रदर्शन रोक्यो, तर विद्यालय र निजी परिसरभित्र धार्मिक कार्यक्रम गर्न अनुमति दियो। यसले नेपालले पछिल्ला वर्षहरूदेखि अपनाउँदै आएको एउटा अभ्यासलाई पुनः देखायो—धार्मिक गतिविधिलाई सहजीकरण गर्ने तर त्यसलाई राजनीतिक प्रदर्शनमा रूपान्तरण हुन नदिने।
यद्यपि, नाम्ग्याल विद्यालयमा विदेशी कूटनीतिक प्रतिनिधिहरूको सहभागिताले चीनको ध्यान तानेको मानिएको छ। यही कारण पूर्वराजदूतहरूले पनि सरकारसँग स्पष्टता मागेका हुन्। उनीहरूले परराष्ट्रमन्त्री शिशिर खनालको हालै सम्पन्न चीन भ्रमणका क्रममा नेपालले पुनः ‘एक चीन’ नीतिप्रतिको प्रतिबद्धता दोहोर्याएको स्मरण गराउँदै त्यससँग मेल खाने व्यवहार हुनुपर्ने बताएका छन्।
नेपालले लामो समयदेखि ‘एक चीन’ नीति अवलम्बन गर्दै आएको छ। यस नीतिअनुसार नेपालले तिब्बतलाई जनवादी गणतन्त्र चीनको अभिन्न अंग मान्छ र आफ्नो भूमिबाट चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै आएको छ। यही कारण विगतमा दलाई लामाको जन्मदिन, ‘फ्री तिब्बत’ प्रदर्शन वा तिब्बतसँग सम्बन्धित राजनीतिक गतिविधिमाथि सरकारले विशेष निगरानी राख्ने गरेको थियो।
तर पछिल्ला महिनाहरूमा केही घटनाले चीनको चासो बढाएको देखिन्छ। अप्रिलमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले गृहमन्त्रीसँग भेट गरी तिब्बत र ताइवानसँग सम्बन्धित गतिविधिमा थप सतर्कता अपनाउन आग्रह गरेका थिए। त्यसपछि पनि चीनले विभिन्न कूटनीतिक माध्यमबाट नेपालको ‘एक चीन’ नीतिप्रतिको प्रतिबद्धता निरन्तर दोहोर्याइरहेको छ।
विश्लेषकहरूका अनुसार पछिल्लो समय नेपालमा भएका राजनीतिक परिवर्तन, तिब्बती निर्वासित नेतृत्वबाट नेपाली नेतृत्वलाई दिइएका शुभकामना तथा विदेशी कूटनीतिक प्रतिनिधिहरूको तिब्बती कार्यक्रममा देखिएको उपस्थितिलाई चीनले सामान्य रूपमा नलिएको देखिन्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असार २०८३, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट