काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणालीले देशलाई भड्खालोमा लैजाने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पैसा खर्च नगरी चुनाव जित्ने अवस्था नरहेकाले क्रान्तिकारी तथा श्रमजीवी वर्गलाई चुनाव जित्न कठिन रहेको बताए ।
उनले गाउँपालिकाको अध्यक्षमा चुनाव जित्नका लागि १० करोड रुपैयाँसम्म खर्च भएको सूचना आफूले पाएको पनि बताए । यो अवस्था रहेसम्म देशको अवस्था सुधार नहुने उनको भनाइ छ । प्रचण्डले विद्यमान शासन प्रणाली पनि देश र जनताको अनुकूल नरहेको बताए । उनले भने, ‘अहिलेको शासन प्रणालीमा सांसद नभई मन्त्री, प्रधानमन्त्री हुन पाइँदैन, त्यसैले करोडौँ खर्च गरेर सांसद हुन खोज्छन् । पैसा खर्च गरेर मन्त्री, प्रधानमन्त्री भएपछि आफूले गरेको लगानी असुल्न खोज्छन् । अनि भ्रष्टाचार हुन्छ ।’
यी विषयमा आफूहरूले संविधानमै ‘नोट अफ डिसेन्ट’ लेखेको जिकिर गर्दै उनले यही व्यवस्थामा रहेर यिनलाई सुधारका लागि आफूहरूले भूमिका निर्वाह गर्नुपर्ने प्रस्ट पारे । यसका लागि विचार र मुद्दा मिल्नेहरूको बीचमा सहकार्य होस्, सबैलाई न्याय हुने किसिमले गठबन्धन होस् भनेर पहल गरेको उनले बताए ।
उनले मुलुकमा परिवर्तन ल्याउन त्याग र बलिदान गरेको, मुख्य भूमिका निर्वाह गरेको पार्टी माओवादी नै रहेको दाबी गर्दै माओवादीले नै नेतृत्व नगरेसम्म यो देशले पार नपाउने प्रस्ट पारे । ‘बुलेटमा छैनौँ, ब्यालेटमै छौँ । यो संघर्ष पनि वर्ग संघर्षको एउटा रुप हो । देश कता लिएर जाने भन्ने कुराको निधो हुन्छ,’ उनले भने ।
उनले शान्ति प्रक्रियामा आउनुभन्दा केही महिना अघि ‘चुनवाङ बैठक’ मा त्यतिबेला देशको राजनीतिक परिस्थितिलाई विश्लेषण गर्दै अन्य दलसँग पनि सहकार्य गरेर जान सकियो भने देश गणतन्त्रमा जान सक्छ र त्यसको नेतृत्व हामीले गर्नुपर्छ भनेर किटेर लेखिएको पनि चर्चा गरे । सोही बैठकमा त्यो गणतन्त्र जनताको गणतन्त्र हुन्छ कि प्रतिक्रियावादीको बुर्जुवा गणतन्त्र हुन्छ भन्ने प्रस्ट छैन भनेर पनि प्रस्ट उल्लेख गरिएको भन्दै प्रचण्डले अहिले पनि देशको अवस्था त्योभन्दा भिन्न नरहेको बताए ।
उनले भने, ‘आजको दिनमा राजनीति त्यसकै वरिपरि घुमिरहेको छ । समाजवाद उन्मुख राज्यको परिकल्पना गरिएको छ तर मानिस संघीयता, गणतन्त्रको विरुद्ध बोल्न थालेका छन् । संविधान विरुद्ध जेहाद छेड्न खोजेका छन् । परिस्थिति चुनवाङमा भनिएकै अवस्थामा छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ साउन २०७९, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकको राष्ट्रिय स्वाधिनता सबै भन्दा अफ्ठ्यारो अवस्थामा पुगेको छः प्रचण्ड
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’