ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका दुईजनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, ०८ : २१
ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका दुईजनाको मृत्यु

file Photo

काठमाडौं । ताप्लेजुङमा झरेको पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर एकै घरका दुई जनाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी कैलाश राईका अनुसार गएराति वर्षासँगै झरेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएको हो। अर्का एक जना घाइते भएका छन्। 

घाइते मृतक तुलसाका श्रीमान् बिष्णु अधिकारी हुन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइँदै गरेको डिएसपी राईले जानकारी दिए। घाइते अधिकारीले भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताए। पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको छ। 

खेवाङसहित ताप्लेजुङका तीन ठाउँमा गए राति भीषण पहिरो गएको प्रहरीले जनाएको छ। जिल्लाको मामांखे र फक्तालुङमा पनि पहिरो गएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए।