जसपाभित्रको विवाद उत्कर्षमा, यादवविरुद्ध हस्ताक्षर अभियान

पत्रपत्रिकाबाट

आइतबार, २९ जेठ २०७९, ०८ : २७
जसपाभित्रको विवाद उत्कर्षमा, यादवविरुद्ध हस्ताक्षर अभियान

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजनको संघारमा पुगेको छ । पार्टीको बैठक बोलाउन माग गर्दै हस्ताक्षर सुरु भएको छ । बैठक बोलाएर पछिल्लो अवस्थामा छलफल नभए अध्यक्ष उपेन्द्र यादवविरुद्ध हस्ताक्षर प्रयोग गरिने रणनीतिमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई समूह सक्रिय भएर लागेको छ ।

नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरको निर्णय गरेसँगै जसपामा समेत मन्त्री हेरफेर विषयले विवाद भइरहेको छ । मन्त्री हेरफेरका साथै अन्य विषयले जसपा विभाजन नजिक पुगेको हो । मन्त्री हेरफेर, स्थानीय तह निर्वाचनको समीक्षालगायतका विषयले जसपाभित्र विवाद सुरु भएको छ ।

जसपा संघीय परिषद्का अध्यक्ष भट्टराई निकटका नेताले पार्टीमा निर्वाचनको समीक्षा हुनुपर्ने माग गरिरहेका छन् । तर, अध्यक्ष उपेन्द्र यादवले पार्टीको बैठक नै नबोलाएको भन्दै भट्टराई पक्षका नेताले असन्तुष्टि व्यक्त गरेका छन् ।

यादवले टिकट बाँड्दा संस्थागत निर्णय नगरेको, सत्ता गठबन्धनसँगको निर्णयमा पार्टीमा परामर्श नगरेको, पार्टी विधानअनुसार अर्को अध्यक्षमा वरिष्ठ नेता अशोक राईलाई चयन गर्न अनिच्छा देखाएको आरोप भट्टराई पक्षका नेताको छ ।

जसपा कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले बैठक बोलाएर स्थानीय तहको निर्वाचन’ सम्बन्धी छलफल तथा आगामी निर्वाचन’ बारे रणनीति तय गर्न माग गरिएको बताए । तर, हस्ताक्षर अभियान नै चलाएको भन्ने कुरा सत्य नभएको राईले बताए ।

‘स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । परिणाम समेत आइसकेको छ । हामीले बैठक बसेर छलफल गर्नुपर्ने माग गरिरहेका छौं’ राईले राजधानीसँग भने, ‘पार्टी नेतृत्वविरुद्ध हस्ताक्षर अभियान चलाएको भन्ने कुरा सत्य होइन ।’

तर, जसपा स्रोतका अनुसार अध्यक्ष यादव १ र २ असारमा विधान अधिवेशन बोलाउन तयार नभएपछि उनीविरुद्ध भट्टराई र अशोक राई समूहले केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गरिरहेका छन् । जसपा विधानअनुसार पार्टीमा अर्को अध्यक्ष राख्नुपर्ने हुन्छ । तर, यादवले अर्को अध्यक्ष राख्ने विषयमा अनिच्छा व्यक्त गर्दै बैठक पर सार्ने गरेका छन् ।

स्थानीय तहको चुनावअघि नै हस्ताक्षर संकलन सुरु गरिएको थियो । त्यति बेला असन्तुष्ट पक्षको दबाब थेग्न नसकी अध्यक्ष यादवले कार्यकारिणी समिति र केन्द्रीय समितिको बैठक बोलाएका थिए । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस